गठबन्धन बैठक : सिट बाँडफाडको काम चाँडो सक्न भन्दै कार्यदललाई नै दिइयो जिम्मा
सत्तारुढ पाँचदलीय गठबन्धनका शिर्ष नेताले सिट बाँडफाँडको सहमति बनाउने जिम्मा फेरी कार्यदललाई नै दिएका छन् । गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसमा चुनावी सिट बाँडफाँटका लागि आधार तय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलाको कार्यदललाई दिने निर्णय गरेको हो।
कार्यदलका एक सदस्यले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी दिए।
गठबन्धनमा रहेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू बैठकमा सहभागी थिए।
बैठकपछि सञ्चारकर्मीसँग कार्यदल सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने, ‘शीर्ष नेतालाई कार्यदलले कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ। चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ। सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई दिने निर्णय बैठकले गरेको छ।’
शीर्ष नेताहरूले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि सिट बाँडफाँट लगायतका सबै काम छिटोभन्दा छिटो सक्न निर्देशन दिएको उनले बताए।
बैठकमा कार्यदलले सिट बाँडफाँटसम्बन्धमा अहिलेसम्म भएका छलफल र तय गरेका सम्भावित आधारलगायत सबै विवरण शीर्ष नेताहरूसमक्ष पेश गरेको थियो।
मन्त्री कार्कीले भने, ‘जे जस्ता आधार तयार पारेका छौं, ती सबै शीर्ष नेताहरूलाई बुझायौं। सिट संख्याबारे चाँडोभन्दा चाँडो तय गरेर सार्वजनिक गर्छौं।’
यसअघि बसेको कार्यदलको बैठकमा आगामी चुनावका लागि २०७४ को समानुपातिक मत र गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामका आधारमा तय गर्ने सहमति भएको थियो।