माओवादीसँग एकताको पहल थाल्दै एकीकृत समाजवादी, बनायो संयोजन समिति

मूलखबर संवाददाता
काठमाडौं

मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ । वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट हुने उपमहासचिव डा। गंगालाल तुलाधरले बताए ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनु अघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् ।