राष्ट्रपतिले हाम्रै माग र योजना अनुसार नै विधेयक फिर्ता गर्नुभएको हो : एमाले
प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक संघीय संसदमा फिर्ता पठाएकामा स्वागत गरेको छ ।
एमालेले आफ्नो माग र योजना अनुसारै राष्ट्रपतिले विधेयक फिर्ता गरेको भन्दै खुसी व्यक्त गरेको हो । राष्ट्रपतिले आइतबार विधेयक पुनर्विचार गर्न भन्दै संसदमा फिर्ता पठाएपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले जनभावनाअनुसार कदम चालेको दाबी गरे । उनले राष्ट्रपतिको निर्णय आफूहरुले सहर्ष स्वीकार गर्ने भन्दै उनले गठबन्धनले पनि त्यसलाई स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने भन्ने आफूहरुको संशोधन प्रस्ताव बहुमतको आडमा असफल पारिएको परिणामका रुपमा यो प्रकरणलाई लिइनुपर्ने भट्टराईको भनाइ थियो । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाले गत साउन ७ र राष्ट्रियसभाले साउन १२ मा पारित गरेको थियो ।