प्रचण्ड र जापानी सत्तारूढ दलका नेताबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइबीच भेट वार्ता भएको छ ।   पाँच दिनको जापान भ्रमणमा रहेका नेता प्रचण्डले मंगलबार राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गरेका हुन् ।         भेटको क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो । भेटवार्ताबारे नेता दाहालको आधिकारिक फेसबुक पेजबाट पनि सूचना सार्वजनिक गरिएको छ ।         यस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको दाहालको फेसबुक पेजमा जारी सूचनामा भनिएको छ ।    जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान पुगेका नेता प्रचण्डले अधिकांश समय नेपाली समुदायसँग विताएका छन् । यसअघि उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।