जापानमा प्रचण्डको भव्य स्वागत, जापानसँग सम्वन्ध सुदृढ गर्ने प्रचण्डको भनाई

मूलखबर संवाददाता
काठमाडौं

पाँचदिने औपचारिक भ्रमणमा जापान पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई जापानमा भव्य स्वागत गरिएको छ ।

आज बिहान नारिता विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त र पदाधिकारीसहितका नेपाली समुदायले भव्य स्वागत गरेका हुन् । विमानस्थलमा आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमण जापानमा रहेका नेपालीहरुको अवस्था बुझ्ने र जापानको विकास अवलोकन गरी नेपाल र जापानको सम्वन्ध सुदृढ गर्ने बताए । भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेकोमा प्रचण्डले दुःख व्यक्त गरे ।

आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।

आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’

पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो । अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने बताए ।

प्रचण्डले आफू भ्रमणको क्रममा नेपाल(जापानको सम्बन्धका साथै जापानमा रहेका नेपालीको अवस्थाको अध्ययन गर्ने बताए ।