
मौरी पुलमा पहिरो जाँदा मुग्लिङ नारायणगढ सडक फेरी अवरुद्ध, यात्रु अलपत्र
नारायणगढ(मुग्लिन सडकको भरतपुर महानगरपालिमा(२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएको छ । राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिनदिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।
वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या देखिएको छ । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।
