कार्यतालिका छोट्याएर भए पनि ४ मंसिरमा निर्वाचन गर्न सकिन्छ : निर्वाचन आयुक्त थपलिया

मूलखबर संवाददाता
काठमाडौं, १९ साउन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर ४ मा चुनाव गर्न सम्भव भएको बताएका छन् ।           आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी एक सय २० दिनअघि नै घोषणा गर्न आग्रह गरे पनि सरकार बल्ल तयारीमा छ, अब घोषणा हुँदा समय पुग्छ ?

आयोगले २ मंसिरमा निर्वाचनका लागि परामर्श गरेको थियो । प्रधानमन्त्रीले ४ मंसिर उपयुक्त हुन्छ भनेपछि तदनुसार हामीले आवश्यक प्रस्ताव पठाएका थियौँ । प्रधानमन्त्री र आयोगबीच पटकपटक अनौपचारिक परामर्श पनि भएको छ । उहाँहरूले ‘निर्वाचनको मिति घोषणापछि धेरै महत्वपूर्ण निर्णय गर्न नहुने भएकाले केही विधेयक पारित गर्न केही समय लाग्ने भएकाले ४ मंसिरकै लागि मिति तय हुन्छ, तपाईंहरूले आवश्यक तयारी गर्दै गर्दा हुन्छ’ भन्नुभएको छ । मिति नतोकिए पनि आयोगले मतदान केन्द्रको पुनरावलोकन गर्ने काम अगाडि बढाइसकेको छ, अन्तिम तयारीमा छ । अन्तिम मतदाता नामावली अद्यावधिक गर्ने कार्यविधिको पनि तयारी भइरहेको छ । दल दर्ताका लागि संघ र प्रदेशमा आवश्यक सूचनाको तयारी गरिरहेको छ । यही साता निर्वाचन घोषणा हुँदा ४ मंसिरमा निर्वाचन गर्न कुनै बाधा हुँदैन ।

तपाईंहरूले मागेको एक सय २० दिन त बाँकी रहेन नि ? 
हामीलाई एक सय २० दिन आवश्यक पर्ने सम्बन्धमा पनि सोधिएको थियो । यस आधारमा १५ मंसिरपछि निर्वाचन गर्न सकिन्छ कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, हिमाली क्षेत्रमा पर्न सक्ने समस्यालगायतलाई देखाएर ४ मंसिरभन्दा ढिला गर्नुहुँदैन भनेर आयोगको धारणा राखेका थियौँ । बरु समय घटाउँछौँ, ४ मंसिरभन्दा ढिला नहोस् भनेका छौँ । यही साता चुनाव मिति घोषणा भए समय अभाव भयो भनेर आयोगले गुनासो गर्दैन ।

आयोगलाई काम गर्न दबाब चाँही कति हुन्छ ? 
एक सय २० दिन अवधि भएन भने आउने जटिलताबारे कार्ययोजनासहितको विवरण सरकारलाई पेस गरेका छौँ । पछिल्लोपटक प्रधानमन्त्रीसँग छलफल हुँदा आउँदो मन्त्रिपरिषद् बैठकबाट मिति तय हुन्छ भन्ने थियो । यसबारे गठबन्धन दलसँग परामर्श गर्न बाँकी रहेको भन्ने जानकारी प्राप्त भएको थियो । यसै साताभित्र निर्वाचन घोषणा भए पनि कार्यतालिकालाई छोट्याएर भए पनि निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा छौँ ।

निर्वाचन घोषणालगत्तै आयोगले के–कसरी काम अगाडि बढाउँछ ? 
मिति घोषणालगत्तै आयोगले अहिले भइरहेको मतदाता नामावली प्रक्रिया रोकेर सात दिनभित्र मतदाता नामावली संकलन गरी अद्यावधिक गर्नेछ । मतदाता नामावली दोहोरिएकाको हकमा विशेष निर्णय गरेर नदोहोरिने गरी व्यवस्थापन गर्नेछौँ । सँगसँगै जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ नामावली सम्बन्धित पालिकामा पठाएर वडास्तरमा त्यसलाई प्रकाशन गरेर अद्यावधिक गर्नेछौँ । बिहीबार निर्वाचन घोषणा भए समय अभाव भएका कारण ढिलोमा ५ भदौभित्रमा दल दर्ताको काम सम्पन्न गरिसक्छौँ र लगत्तै मतपत्र डिजाइनको काम गर्नेछौँ । सुरुमा समानुपातिकतर्फको मतपत्रको डिजाइन हुनेछ । स्थानीय तह निर्वाचनमा देखिएको उम्मेदवार नभएकाको पनि मतपत्रमा चुनाव चिह्न राखिएको भन्ने गुनासोलाई पूर्ण रूपमा हटाउनेछौँ । उम्मेदवार भएकाको मात्रै मतपत्रमा नाम र चुनाव चिह्न समावेश गर्नेछौँ । समानुपातिकका लागि करिब चार करोड मतपत्र आवश्यक पर्छ ।

सरकारको मिति घोषणालाई नै कुर्नुपर्ने विषयचाहिँ के–के छन् ? 
औपचारिक रूपमा गर्नुपर्ने सबै काम मिति घोषणापछि नै हुने हुन् । अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने, निर्वाचन खर्चका लागि अर्थ मन्त्रालयबाट कार्यविधि पारित गर्नुपर्नेलगायतका विषय बाँकी नै छन् । खाका तयार गर्ने काम भइरहेका छन् । विशेषगरी सामान खरिदका लागि समय अभाव हुने देखिन्छ । यसबीचमा दसैँ, तिहार र छठजस्ता चाडपर्व छन् । अहिले नै आत्तिनुपर्दैन । तर, जति ढिलो हुन्छ त्यति समय अभाव त हुन्छ । – गाेरखापत्र