देशैभर एकैचरणमा संघ र प्रदेशको चुनाव हुने, यस्तो छ आयाेगकाे तयारी
सरकारका एक मन्त्रीले बिहीबार नियमित बैठक बस्न लागेको र निर्वाचनको मिति घोषणाको सम्भावना रहेको बताए । ‘बिहीबारको बैठकमा निर्वाचनको मिति घोषणाको प्रस्ताव जाँदै छ,’ ती मन्त्रीले भने, ‘अन्तिम अवस्थासम्म कुनै परिवर्तन भएन भने ४ मंसिरका लागि बिहीबार नै निर्वाचन घोषणा हुनेछ ।’
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि बिहीबार निर्वाचन घोषणा हुन सक्ने संकेत गरे । ‘बिहीबार क्याबिनेट बस्दै छ । बैठकमा निर्वाचनबारे पनि छलफल हुन सक्छ,’ उनले भने ।
आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी त्यसको एक सय २० दिनअगाडि नै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । मौजुदा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पदावधि आगामी २२ मंसिरमा पूरा हुने आयोगको निष्कर्ष छ । प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक–फरक मिति मान्नुपर्नेजस्तो देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पदावधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने आयोगको भनाइ छ । तर, निर्वाचन घोषणालगत्तै मौजुदा प्रतिनिधिसभा स्वतः भंग हुने कतिपयको मत छ ।
निर्वाचन आयोग ऐन, २०७३ दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषित गरेको छ । निर्वाचनको मिति तोक्दा सो व्यवस्थाबमोजिम निर्वाचन हुने दिनभन्दा कम्तीमा एक सय २० दिनअगाडि निर्वाचन अवधि हुने गरी तोक्नुपर्ने हुन्छ । आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । सरकारले मिति घोषणामा केही दिन तलमाथि गर्न सक्छ ।
०७४ मा १० र २१ मंसिरमा गरी दुई चरणमा निर्वाचन भएको थियो । दुई चरणमा निर्वाचन गर्दा खर्च बढ्नेदेखि अन्य जटिलता आउने आयोगको बुझाइ छ । तीन सय ३० किसिमका प्रदेश सभाको मतपत्र र एक सय ६५ किसिमका प्रतिनिधिसभाको मतपत्र छाप्नुपर्नेजस्ता सबै कामका लागि २२ देखि २५ दिनको समय आवश्यक पर्ने आयोगको बुझाइ छ । सोहीअनुसार १ वा २ कात्तिकभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर त्यसपश्चात्को काम गर्न समय पुग्ने गरी मंसिर २ लाई सिफारिस गरेको आयोग पदाधिकारीले बताएका थिए ।