मंसिर ४ मै चुनाव गर्न गठबन्धन दलहरु सहमत, बिहिबार चुनाव घोषणा हुन सक्ने
निर्वाचनको अन्यौलता हटाउन सत्ता गठबन्धन सहमत भएको छ । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएसँगै निर्वाचन सम्वन्धी अन्यौलताको अनत्य हुने भएको हो । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए ।
ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार बिहिबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ ।
बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।