बढ्दै कोरोना : २४ घण्टामा ८९५ जना संक्रमित, उपत्यकामा सावधानी अपनाउन आवश्यक

मूलखबर संवाददाता
काठमाडौं, १६ साउन ।

नेपालमा कोरोना संक्रमणले फेरी गति लिन थालेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यसको गति बढेको विश्लेषण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।
संक्रमणको दर अन्यत्रभन्दा काठमाडौं उपत्यकामा वढि भएकाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।