अर्थमन्त्री शर्मामाथि लगाइएको आराेप पुष्टि भएन, सिसिटिभी फुटेजमा बाहिरी मानिस आएकाे/गएको देखिएन
अर्थमन्त्री जनार्दन शर्मामाथि लगाइएको आराेप निराधार पुष्टि भएको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्ति प्रवेश गराई करकाे दर हेरफेर गरेको भन्दै छानविन गर्न माग गरेपछि संसदीय छानविन बनेको र छानवीनमा सहयाेग गर्नकाे लागि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए ।
छानवीन समितिले सिसिटिभी फुटेज समेतकाे अध्ययन गर्दा अाराेप पुष्टि हुने कुनै प्रमाण फेला नपरेकाले शर्मा निर्दाेष सावित भएका एक सदस्यले बताए । अर्थमन्त्रालयमा नयाँ गाडी आएको/गएको, मन्त्रीको कोठामा नयाँ व्यक्ति प्रवेश गरेको केही पनि देखिएन,’ ती सदस्यले थपे,’ अब हामी शर्माको संलग्नता छैन भन्ने निस्कर्षमा पुगेका छौँ ।’ एमालेका सांसदहरुले भने सत्ता पक्षले प्रमाण नष्ट गरेको आरोप लगाएका छन् ।
तर, समितिका सबै सदस्य राखेर रिकभर भएको सीसीटीभी हेर्दा कोही नदेखिएको अर्का सदस्यले बताए । उनले भने, ‘अब निस्कर्षसहित प्रतिवेदनलाई अन्तिम रुप दिन लाग्छौँ । प्रतिवेदनमा लेखिने विषयबस्तुबारे भोलि (११ साउन) साढे ११ बजे फेरि बैठक बस्ने समिति सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
१४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अरु नै व्यक्ति प्रवेश गरी बजेट र करको दायरा हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप लागेपछि उनले राजीनामा दिइसकेका छन् ।
२२ असारमा गठित ११ सदस्यीय छानविन समितिले अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग वयान लिएको थियो।
सुरुको १० दिन र थप गरिएको ७ दिनमा पनि समितिले अध्ययन सकेर अब प्रतिवेदन लेख्न लागेको हो । समितिले सिंहदरबार प्रवेश गर्ने पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज पनि मगाएको थियो । विशेष समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर र राजस्व उपसचिवसँग वयान लिएको थियो ।
३१ असारमा समितिलाई अर्थ मन्त्रालयले सिसिटिभी फुटेज (हार्डडिस्क) उपलब्ध गराइएको थियो । १ साउनमा अर्थकै आइटी विज्ञ उपसचिवलाई बोलाएर सो फुटेज हेरिएको थियो ।
फुटेजबाट प्रमाण फेला नपरेपछि समितिले कस्तो रिपोर्ट लेख्ने भन्ने निर्णय गर्न बाँकी छ। सबै सहमत भएरै रिपोर्ट बनाउने प्रयास गर्न लागिएको छानविन समितिका सदस्य बताउँछन् । ती सदस्य भन्छन्, ‘कुनै क्लु देखिएको छैन, अब पनि पाइएला जस्तो लाग्दैन । रिपोर्ट लेख्दा के शब्द राख्ने, सल्लाह गर्छौं ।’