प्रतिनिधिसभाको उपसभामुखमा भुषाल विजयी, को हुन पुष्पा भुषाल ?

मूलखबर संवाददाता
काठमाडौं, ३१ असार ।

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल निर्वाचित भएकी छिन् । शुक्रबार भएको निर्वाचनमा भुषालले प्रमूख प्रतिपक्षी दल ने कपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजीत गर्दै विजयी बनेकी हुन् ।

झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाल १ सय ४८ मत पाएर बहुमतले विजयी भएकी हुन् । निर्वाचनमा ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।

भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् । भुसाल सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजनद्वारा निर्वाचन प्रक्रिया सम्पन्न गराएका हुन् । उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आसनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आसनको देब्रेतर्फको लबीमा गएर र तटस्थ रहनेलाई सभामुखको आसनको पछाडिको लवीबीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिएका थिए ।

तत्कालीन नेकपाको सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्नि सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । त्यसयता खाली भएकोमा झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

को हुन् ६१ वर्षीया भुसाल ?
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँग्रेस र महिला सङ्घको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भुसाल पार्टी राजनीतिमा आएकी थिइन् ।

वरिष्ठ अधिवक्ता समेत रहेकी ६१ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा।चोपलाल भुसालकी पत्नी हुन् । राजनीतिक पृष्ठभूमिकी भुसालका बुवा काशीनाथ गौतम २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् ।

काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् ।

संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६ को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट भुसाल पराजित भएकी थिइन् ।

भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुषालले आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेकी थिइन् ।
नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी भुसालले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरिसकेकी छिन् ।