नेपालबाट चीनविरोधी गतिविधि नहोस् भन्नेमा हाम्रो चासो हो : लिउ

मूलखबर संवाददाता
काठमाडौं, २७ असार ।

नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमूख लिउ जियानचाओले आफ्नो चासो नेपालको विकास र नेपालबाट चिनविरोधी गतिविधि नहोस् भन्ने मात्रै भएको बताएका छन् ।

विदेश विभाग प्रम्रूख लिउले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सो बताएका हुन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा माओवादी केन्द्रका नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसालको पनि सहभागिता रहेको थियो ।

भेटमा सहभागि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार नेता लिउ पछिल्लो समयमा सार्वजनिक भएका अन्तर्राष्ट्रिय सहयोगका विभिन्न मुद्दामा नेपाली राजनीतिक दलहरूको धारणा बुझ्न नेपाल आउनुभएको हो । सोमबार भएको भेटमा नेता लिउले नेपालले आफ्नो विकास र उन्नतिका लागि विश्वका जुनसुकै मुलुकसँग सहयोग लिन सक्ने बताउनुभयो ।

नेपाल चीनको असल मित्र रहेको भन्दै उहाँले नेपालको भू–भाग प्रयोग गरेर कुनै पनि मुलुकले चीनविरोधी गतिविधि नगरोस् भन्नेमा मात्र आफूहरूको चासो रहेको बताउनुभयो । नेता लिउले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नाबारे आफैँले निर्णय गर्दा नै सफल भएको उदाहरण दिँदै नेपालका कम्युनिस्ट पार्टीहरूलाई पनि आफ्नाबारे आफैँले निर्णय गर्न सक्ने क्षमता विकास गर्न सुझाउनुभयो ।

करिब डेढ घण्टा लामो छलफलमा प्रचण्डले चीनको चासोप्रति आफूहरु जानकार रहेको बताउनु हुँदै नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको थियो । दुई देशका कम्युनिस्ट पार्टीहरूको वैचारिक राजनीतिक सम्बन्धका साथै भ्रातृत्व सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।