जापानका पुर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या, सिंगै विश्व शोकमा, नेपालमा पनि राष्ट्रिय शोक घोषणा
जापानका निवर्तमान प्रधानमन्त्री सिने आवेको शुक्रबार विहान एक चुनावी प्रचार सभामा बोल्दा बोल्दै गोली हानी हत्या गरिएको छ । नारा शहरमा आयोजित चुनावी कार्यक्रममा बोलिरहेका बेला उनको पछाडिबाट एक बन्दुबधारीले घरेलु बन्दुकबाट दुई गोली हानेपछि ढलेका आबेको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
आबेको हत्याले जापानसहित सिंगै विश्व शोकमा डुबेको छ । नेपालले पनि उनको निधनमा शनिवार एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
जापानको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदै छ, लिबरल डेमोक्र्याटिक पार्टीलाई मत माग्न उनी शुक्रबार नारा सहरमा थिए । यही नै उनको राजनीतिक मात्र होइन, व्यक्तिगत जीवनको पनि अन्तिम क्षण बन्न पुग्यो । जापानी जलसेनामा काम गरेका व्यक्तिले घरमै बनाएको बन्दुकबाट चलाएको गोली लागेपछि आबेको मृत्यु भएको हो ।
दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने आबे नै हुन् । कुल नौ वर्ष प्रधानमन्त्री रहेका उनी पारिवारिक पृष्ठभूमिले नै राजनीतिमा जोडिएका थिए । आबेका हजुरबुबा नोबुसुके किसीका प्रधानमन्त्री तथा बुबा सिनतारो विदेशमन्त्री थिए ।
सन् १९५४ मा जन्मिएका आबे सन् १९९३ मा पहिलो पटक सांसद बनेका थिए । सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री नै बने । त्यतिबेला उनी दोस्रो विश्वयुद्धपछि सरकारको नेतृत्व गर्ने सबैभन्दा कम उमेरका नेता थिए । तर, सरकार प्रमुखका रूपमा उनको पहिलो कार्यकाल सुखद रहन भने सकेन । एकपछि अर्को राजनीतिक विवादमा मुछिएपछि उनको दलले माथिल्लो सदनमा भारी मात्रामा शक्ति गुमाएको थियो । स्वास्थ्यमा समेत खराबी आएपछि सन् २००७ सेप्टेम्बरमा उनले पदत्याग गरेका थिए ।
स्वास्थ्यमा सुधारसँगै राजनीतिमा सक्रिय भएका आबे सन् २०१२ मा पुनस् सरकारको नेतृत्वमा पुगेका थिए । त्यस्तै सन् २०१४ र सन् २०१७ मा पनि उनी प्रधानमन्त्री चुनिए । यसबीचमा राजनीतिक लोकप्रियताको उतारचढाव देखे–भोगेका उनलाई पार्टी पंक्तिबाट बलियो साथ मिलेको थियो । पार्टीभित्र पकड बलियो बन्दै गएकाले उनलाई सरकारको नेतृत्व छोड्नुपर्ने चुनौती थिएन । बरु पार्टीले विधान परिवर्तन गर्दै तेस्रो पटक पनि प्रमुख भूमिकामा रहन बाटो खोलिदिएको थियो । तर उनले दुई वर्षअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
जापानमा व्यक्तिगत प्रयोजनका लागि बन्दुक राख्न निषेध छ । व्यक्तिले आफ्नो सुरक्षाका लागि बन्दुक राख्न पाउने गरी कानुन सुधार गर्नुपर्ने बताएपछि आबे गत फेब्रुअरीमा विवादमा तानिएका थिए ।
तर, दुस्खद संयोग एउटा सन्काहा बन्दुकधारीले गोली हान्दा उनको मृत्यु भएको छ । पश्चिमी सहर नारामा स्थानीय समयअनुसार शुक्रबार बिहान ११स्३० बजेतिर सडकमा चुनावी भाषण दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । जापानी संसद्को माथिल्लो सदनका लागि आइतबार चुनाव हुँदै छ ।
गर्धनमा गोली लागेपछि ढलेका ६७ वर्षीय आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल लगिएको थियो तर करिब ५ घण्टापछि उनको मृत्यु भएको उनीसम्बद्ध दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।
‘आबे भाषण दिइरहेका थिए । त्यतिबेला एक व्यक्ति उनको पछाडि आए । पहिलो गोलीको भयानक आवाज सुनियो, दोस्रो गोली लागेपछि आबे त्यहीं ढले,’ प्रत्यक्षदर्शीले भनेका छन्, ‘गोली चलाउने व्यक्ति त्यहाँबाट भागेका थिएनन् । बन्दुक पनि हातमै थियो । तत्काल सुरक्षाकर्मीले ती व्यक्तिलाई गिरफ्तार गरे ।’
ढलेपछि पनि आबे होसमै थिए तर केहीबेरमा हृदयाघात भएको जापान टाइम्सले लेखेको छ । गोली प्रहारबाट आबेको गर्धनमा चोट लागेको र मस्तिष्कभित्र रगत बगेको चिकित्सकले बताएका छन् । उपचारका क्रममा साँझ ५ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले आबेको हत्याको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले घटनालाई घृणित भन्दै दोषीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताएका छन् । ‘यो हमलाको निन्दा गर्न जस्तोसुकै कडा शब्द होलान्, म ती प्रयोग गर्न चाहन्छु । लोकतन्त्रमा यस्ता घटनाको कुनै स्थान हुँदैन,’ चुनावी प्रचारका क्रममा यामागाटा क्षेत्रमा रहेका किसिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको सबैभन्दा बलियो आधार मानिन्छ । यस्तो अवस्थामा बर्बर र दुर्भावनापूर्ण घटना भएको छ ।’ आबेमाथि गोली प्रहार भएको जानकारी पाएलगत्तै प्रधानमन्त्री टोकियो फर्किएका थिए ।
आबेमाथि गोली प्रहार गर्ने व्यक्ति ४१ वर्षीय तेत्सुया यामागामी जलसेनाका पूर्वसैनिक रहेको रक्षा एनएचकेले जनाएको छ । ‘उनले तीन वर्ष मेरिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए । सन् २००५ उनले जागिर छाडेका थिए, नाराकै बासिन्दा उनले घरेलु बन्दुकबाट गोली हानेका थिए,’ समाचारमा भनिएको छ ।
‘करिब १० मिटरको दूरीबाट गोली प्रहार भएको छ,’ आबेको भाषण सुनिरहेका डेमोक्र्याटिक लिबरल पार्टीका एक पदाधिकारीले पत्रकारहरूसँग भनेका छन्, ‘गोली प्रहार गरेपछि पनि उक्त व्यक्ति शान्त थियो र आफ्नो स्थानबाट डेग चलेको थिएन ।’ तत्कालै पक्राउ परेका यामागामीलाई निसी प्रहरी चौकीमा राखिएको छ । उनको घर खानतलासी गर्दा विस्फोटक पदार्थसमेत भेटिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा यामागामी आबेसँग असन्तुष्ट रहेको र हत्या गर्ने उद्देश्यले गोली चलाएको प्रहरीको भनाइ छ ।
जापानमा चुनावी दौरानमा प्रधानमन्त्री र नागरिकबीच दूरी कम रहने गरेको मानिन्छ । अझ, चुनावी प्रचारका क्रममा यो दूरी झनै छोट्टिने जापानी पत्रकार तोबियस ह्यारिसले ट्वीटरमा लेखेका छन् । चुनावी प्रचारप्रसार र सभाबारे दक्खल राख्ने पत्रकार ह्यारिसले लेखेका छन्, ‘चुनावी प्रचारका क्रममा नेता र मतदाताबीचको दूरी निकै न्यून रहने गर्छ । शुक्रबार आबेको सुरक्षार्थ सुरक्षाकर्मी खटिएका थिए, तर यस्ता सभामा कडा सुरक्षा बन्दोबस्ती भने रहँदैन ।’
वासिङटन पोस्टका जापान ब्युरो प्रमुख मिसेल ये ही लीले जापानमा यस्तो हिंसा अपवादस्वरूप हुने बताएका छन् । यसअघि सन् १९३२ मा यस्तै ‘हाइप्रोफाइल’ हत्या भएको छ । तत्कालीन प्रधानमन्त्री इनुकाई सुयोसीको हत्या पनि एक जलसैनिकले गरेका थिए ।
जापानी प्रधानमन्त्री किसिदाले आक्रमणकारीको आपराधिक पृष्ठिभूमिबारे अहिले नै केही भन्न नसकिने बताएका छन् । ‘अहिलेसम्म आक्रमणकारीको आपराधिक पृष्ठभूमिबारे कुनै जानकारी छैन । प्रहरीको अनुसन्धानपछि मात्रै विस्तृतमा बताउन सकिन्छ । तर, हामीलाई आक्रमणकारीको पृष्ठभूमि जान्नु धेरै महत्त्वपूर्ण छ, यो घटना आसन्न चुनावसँग सम्बन्धित हुन पनि सक्छ,’ उनले टोकियोमा पत्रकारहरूसँग भनेका छन् ।
प्रधानमन्त्री किसिदाले आबेको नेतृत्वलाई लिएर उच्च सम्मान व्यक्त गरेका छन् । ‘आबेको विरासतलाई लिएर मेरो मनमा उच्च सम्मान छ । उनीप्रति गहिरो समवेदना अर्पण गर्दछु,’ किसिदाले शुक्रबार टोकियोमा पत्रकारहरूसँग भनेका छन्, ‘आबे मेरा एक खास साथी थिए । उनको साथमा मैले धेरै समय बिताएको छु, त्यसक्रममा महत्त्वपूर्ण साथ र सल्लाह पाएको छु ।’
विश्वभरबाट शोक व्यक्त
आबेको हत्यालाई लिएर विश्वभरका राष्ट्र प्रमुख र नेताहरूले दुस्ख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आबेले आफ्नो जीवन नै जापानी नागरिकको रक्षा र सेवामा बिताएको उल्लेख गरेका छन् । बाराक ओबामाको कार्यकालमा आबेसँग गहिरो मित्रता भएको स्मरण गर्दै बाइडेनले उनी दुई मुलुकबीच साझेदारी र अमेरिकी–जापानी जनताबीच प्रगाढ मित्रता कायम गराउन सफल नेता रहेको उल्लेख गरेका छन् । ‘हत्याकै समयमा पनि उनी लोकतन्त्रको आधार स्थापित गर्ने कर्ममै कटिबद्ध थिए,’ बाइडेनले भनेका छन्, ‘हिंस्रक आक्रमण हामीलाई कदापि स्वीकार्य छैन । बन्दुकजन्य आक्रमणले सधैं पीडितको मनमा गहिरो दाग छोड्ने गर्छ ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आबे परिवारसँग फोन सम्पर्क गरेरै समवेदना प्रकट गरेका छन् । आबेलाई उत्कृष्ट र सफल राजनेताको संज्ञा दिँदै पुटिनले उनको कार्यकालमा दुवै मुलुकबीच रहिआएको सम्बन्ध थप विकासित हुन पाएको म्यासेजिङ एप टेलिग्राममा लेखेका छन् ।
सन् २०१६ मा बेलायत भ्रमणका क्रममा आबे र उनकी श्रीमतीसँगको भेट सधैं स्मरणमा रहने उल्लेख गर्दै बेलायती महारानी एलिजावेथ द्वितीयले जापानी राजालाई समवेदना पत्र पठाएकी छन् । ‘आबेको जापानी नागरिकप्रतिको प्रेम र बेलायतसँगको सम्बन्ध थप प्रगाढ बनाउने इच्छाशक्ति सधैं छर्लंग थियो,’ समवेदना पत्रमा भनिएको छ ।
टोकियोस्थित चिनियाँ दूतावासले चीन–जापानबीच रहिआएको सम्बन्ध विकासमा आबेले महत्त्वपूर्ण योगदान दिएको बताएको छ । लामो समय साझेदार रही काम गरेका अमेरिकी पूर्वराष्ट्रपतिद्वय बाराक ओबामा र डोनाल्ड ट्रम्पले समेत एक सच्चा मित्र र सहयात्री गुमाएको बताएका छन् । साझेदार राष्ट्रका प्रमुखका रूपमा काम गर्दाका अनुभव स्मरण गर्दै दुवै नेताले जारी गरेको समवेदनामा आबे सधैंभरि यादमा रहिरहने उल्लेख गरेका छन् ।
आबेको मृत्युमा शोक प्रकट गर्दै क्यानडा, फ्रान्स, अस्ट्रेलिया, इटाली, भारत, ताइवान, पोल्यान्ड, फिलिपिन्स, इजरायल, दक्षिण कोरिया, जर्मनी, रोमानिया, टर्कीलगायत मुलुकका प्रमुखले पनि विश्वले एक सच्चा राजनीतिज्ञ र नेता गुमाएको जनाएका छन् ।
नेपालमा राष्ट्रिय शोक
काठमाडौं– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भत्र्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दुस्ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रिपरिषद्ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुस्ख व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बैठकले हत्याको भत्र्सना पनि गरेको छ ।