श्रीलंकाको डरलाग्दो अवस्था : इन्धन भण्डार रित्तियो, किन्न पैसा छैन, देशभर हाहाकार

मूलखबर संवाददाता
काठमाडौं

७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेकोे श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार पनि रित्तिएको बताएका छन् ।

उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।

देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताए । जुन नियमत आपूर्ति भइरहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो ।

७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।

मन्त्री विजेसेकेरालका अनुसार पेट्रोलियम पदार्थ आयतका लागि केन्द्रीय बैंकले १२ करोड ५० लाख डलर मात्र उपलब्ध गराएको छ । जब की श्रीलंकाले २ हप्तापछिका लागि मगाएको पेट्रोलियम पदार्थका लागि ५८ करोड ८० लाख डलर आवश्यक छ ।श्रीलंकाले यसअघि नै ल्याएको इन्धनको ८० करोड डलर तिर्न बाँकी रहेको उनले बताए ।

इन्धन सकिएको र किन्न सक्ने अवस्था नभएको सार्वजनीक भएपछि देशभर हाहाकार भएको छ । सार्वजनीक यातायात र नीजि यातायातहरु पनि फट्ट फुट्ट चलेका छन् भने अनिश्चित आतंकले देशभर जनजीवन आक्रान्त बनेको छ ।-तस्विर – सिएनएन