ढुक्क हुनुस्, प्रदेश र संघको चुनाव समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, १६ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित ६४ औँ संसद दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्र्दैप्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

कार्यक्रममा छोटो सम्बोधन गर्दै नेकपा कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।

‘‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं । हामी सबै मिलेर यस यात्रालाई चाँडै टुङ्गोमा पुर्‍याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो ।,’’ प्रधानमन्त्री देउवाको भनाई थियो,, ‘‘गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ । यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु । अन्तमा, यो दिवसमा अवसरमा सम्पूर्ण राष्ट्रको सर्वोपरी हित अनुकूल हुने गरी काम गर्न अनुरोध गर्दछु ।’’