भरतपुरबाट नवलपरासी बर्दघाट २२० केभी प्रसारण लाइन आशिंक सञ्चालनमा
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारणलाइनमा सोमबार विद्युत प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याइएको हो ।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारणलाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुनेछ ।
अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत आपूर्ति हुनेछ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत खपत हुने गरेको छ । रासस