
चीनको बीआरआईलाई काउन्टर दिन जी सेभेनले ल्यायाे पिजीआईआई, के के छन् याेजना ?
धनी राष्ट्रहरूको समूह जी सेभनले चीनको बेल्ट एन्ड रोड परियोजनालाई चुनौती दिने उद्देश्यले विकासशील देशहरूमा ६०० अर्ब डलर परिचालन गर्ने योजनाको खाका सार्वजनिक गरेका छन्।
अघिल्लो वर्ष ब्रिटेनमा भएको जी सेभनको वार्तामा घोषणा गरिएको विश्वव्यापी पूर्वाधार र लगानीसम्बन्धी साझेदारीलाई कार्यान्वयन गर्ने निर्णय अहिले पुनः गरिएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजनाले सबैलाई लाभ हुने बताए।
चीनको खर्बौँ डलर बराबरको पूर्वाधार परियोजनाले धेरै देशहरूलाई चर्को ऋण बोकाएको भन्दै आलोचना हुने गरेको छ।
“म स्पष्ट पार्न चाहन्छु – यो सहयोग वा दान होइन,” जी सेभनको पीजीआईआई नामक उक्त अभियानबारे बाइडनले भने, “यो त्यस्तो लगानी हो जसले सबैलाई लाभ दिन्छ।”
उक्त अभियानअन्तर्गत देशहरूले ‘लोकतन्त्रहरूसँग साझेदारीको ठोस लाभ’ देख्न पाउने बाइडनले बताए।
अभियानले जलवायु परिवर्तनका प्रभावसँग सङ्घर्ष गर्न, विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल पूर्वाधार निर्माणमा सघाउने लक्ष्य राखेको छ।
प्राथमिकता दिइएका केही परियोजनामा एङ्गोलामा एउटा सौर्य ऊर्जा परियोजना, सेनिगलमा खोप उत्पादन केन्द्र निर्माण र इजिप्ट र होर्न अफ अफ्रिकाहुँदै सिङ्गापुर र फ्रान्सलाई जोड्ने १,६०९ किलोमिटर दूरसञ्चार केबल बिच्छ्याउने पनडुब्बी आदि पर्छन्।
-बीबीसी
