साेधनान्तर घाटा र १९ पेजकाे दस्तावेजकाे कारक केपी ओली नै हुन् – प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शाेधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको बताएका छन् ।
‘शोधनान्तर घाटाको जन्मदाता, प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो,’ दाहालले भने । एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले शोधनान्तर घाटामा मुलुकलाई लगेको र अर्थतन्त्र कमजोर पारेको आरोप लगाएपछि दाहालले जवाफ दिएका हुन् । मुलुकमा भित्रिनेभन्दा मुलुकबाट बाहिरिने रकम बढी हुँदा शाेधनान्तर घाटा हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो १० महिनामा २ खर्ब ८८ अर्ब मुलुकको शाेधनान्तर घाटा छ ।
कार्यक्रममा प्रचण्डले ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र त्यसको परिणाम कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको बताए ।
नेकपामा ओलीविरुद्ध १९ पृष्ठको दस्तावेज ल्याएको कुरालाई लिएर प्रश्न गरे, ‘आजभोलि केपी ओलीले जसलाई पनि त्यो १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्नुहुन्छ । त्यो १९ पृष्ठको दस्तावेज कसले जन्मायो ?’
तत्कालीन अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका रूपमा ओलीले गरेको व्यवहारका उक्त दस्तावेज ल्याउनुपर्को र त्यो आफ्नो मात्रै नभएको दाहालको भनाइ थियो । ‘त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि हो । आजभोलि वामदेवजीले आजभोलि छ्यास्स केही भन्नुहुन्छ । अझ त्योभित्र लेखेको कुराको बढी सुझाव वामदेवजीको थियो । इतिहास र सच्चाइलाई आत्मसाथ गर्नुपर्छ,’ उनले भने, ‘कम्युनिस्ट पार्टीभित्र यस्तै प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, संविधान विरोधी, संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीको कारणले हामीले बाध्य भएर सच्चाइ जनताको अगाडि ल्याउन परेको होइन ?’