समाजवादीका मन्त्री फेरिए, झाँक्रीले झारिन् आँशु
राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेकाले २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । यसैबीच आजै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका थिए । मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आँखाबाट आँसु झारेर मन अमिलाे पारेकी भिडियो भाइरल भएको छ ।