बाथ राेग के हाे ? यसको उपचार कसरी गर्न सकिन्छ ?

मूलखबर संवाददाता
काठमाडौं

बाथ राेग अर्थात र्युमटोइड आरथ्राइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो। रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू (विशेष गरी औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने सुन्निने र अररो हुन्छन्। बिहानपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुखोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ।

रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ। यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्ग जस्ता अंगको इन्फेक्सन बढी र जटिरूपमा देखिने सम्भावना हुन्छ।

यसका दीर्घकालीन असरहरूः
समयमै सही उपचार नभएमा ¥युमटोइड आरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ। कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ।

र्युमटोइर्ड फ्याक्टर के हो ?
र्युमटोइड फ्याक्टर सामान्यतया र्युमटोइड आरथ्राइटिसका बिरामीको रगतमा पाइने आफ्नै शरीरको प्रतिरोधात्मक शक्तिबिरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो। यो रोगबाट ग्रसितमध्ये करिब दुई तिहाइ बिरामीको रगतमा देखिने यस्तो प्रोटिन कहिलेकाहीं स्वस्थ मानिस, तथा बाथबाहेकका अन्य रोगीहरूमा पनि देखिन सक्छ। त्यसैले ¥युमटोइड फ्याक्टर पोजिटिभ देखिएमा नहुने भन्ने हुँदैन। रोगको निदानमा सहयोगी मात्र हुने यो जाँच पटक–पटक गरिरहनु जरुरी पनि हुँदैन।

यसको उपचार कसरी गरिन्छ ?
मधुमेह उच्च रक्तचाप तथा मुटुको रोग जस्तै ¥युमटोइड आरथ्राइटिस पनि पूर्णरूपमा निको पार्न नसकिने एक दीर्घ रोग हो। जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो।
र्युमटोइड आरथ्राइटिसको उपचारमा विभिन्न औषधिहरू, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरूको समेत प्रयोग गरिन्छ। कतिपय अवस्थामा जोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्दछ।

र्युमटोइड आरथ्राइटिसको उपचारमा मुख्यतः रोगलाई नियन्ण गर्ने र सुजन कम गर्ने औषधिहरू प्रयोग गरिन्छ। एकाध जोर्नीमा मात्र रोगले च्यापेको खण्डमा त्यो जोर्नीमा सोझै स्टेरोइड औषधिको सुई दिएर पनि सुजन कम गर्न सकिन्छ। सुजन कम गर्ने तथा रोगलाई नियन्त्रणमा राखेर सम्भाव्य जटिलताबाट जोगाउने विभिन्न औषधिहरू विज्ञ चिकित्सकको सल्लाह र निगरानीमा रोगको कडापन र प्रकृति हेरी लामो समयसम्म र सम्भवतः जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ। उपचारको क्रममा आएको सुधार हेर्न तथा औषधिको हानीकारक असर एवं रोगका जटिलताहरू मूल्यांकन गर्नका लागि नियमितरूपमा स्वास्थ्य परीक्षण तथा रगत जाँचको आवश्यकता पर्दछ।

धेरै दुखेका तथा सुन्निएका जोर्नीहरूलाई पर्याप्त आरामको जरुरत पर्दछ। नियमितरूपमा मनतातो पानीले सेकेर पनि दुःखाइ र अररोपन कम गर्न सकिन्छ। तर, जोर्नी जाम हुनबाट जोगाउनका लागि जोर्नीको दुःखाइ र सुजन कम हुनेवित्तिकै जोर्नी चलाउन र पर्याप्त कसरत गर्न थाल्नु पर्दछ।