शनिबार बिहानसम्म ६८२ पालिकाकाे नतिजा : कसले कति जिते ?

मूलखबर संवाददाता
काठमाडौं, ७ जेठ

शनिबार बिहानसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एक  महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।     अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३०४ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ । उसले उपप्रमुख पदमा २७९ स्थानमा विजयी हासिल गरेको छ। कांग्रेस अझै १९ स्थानीय तहको प्रमुखमा अगाडि छ भने उपप्रमुखमासमेत १९ नै स्थानमा अग्रता लिएको छ ।

दोस्रो दल बनेको नेकपा (एमाले)ले १८६ स्थानीय तहको प्रमुखमा बाजी मारेको छ। उसले १७ तहको प्रमुखमा अग्रता लिएको छ। २१२ स्थानीय तहको उपप्रमुख जितेको एमाले २७ स्थानमा अगाडि छ।

तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले ११६ स्थानीय तहको प्रमुख पद जितेको छ भने १२० स्थानमा उपप्रमुख जितेको छ। प्रमुखमा सात स्थानमा अगाडि रहेको माओवादी उपप्रमुखमा आठ तहमा अगाडि छ।

जनता समाजवादी पार्टीले २३ स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अगाडि छ। नेकपा (एकीकृत समाजवादीले १७ पालिकामा प्रमुख जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ।

तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १० ठाउँमा प्रमुख पदमा जित्दा ६ ठाउँमा अग्रता कायमै राखेको छ। विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलले २६ स्थानीय तह जितेका छन्। यसरी कुल ७५३ स्थानीय तहमध्ये ६८२ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा ७१ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ।

मधेस प्रदेशका धेरै पालिकाको मत परिणाम आउन बाँकी हुँदा कर्णाली प्रदेशका पालिकाको सबै परिणाम आइसकेको छ।