९ महिनापछि विनाशर्त एमालेले किन हटायो संसद अवरोध ?
संसदको दुई पटक सम्म हत्या गर्न खोजेको एमालेले अदालतबाट संसद पुनस्र्थापनाको फैसला आएपछि संसदमा निरन्तर अवरोध जारी राखेको प्रमुख प्रतिपक्षी दल एमालेले विनाशर्त संसद अवरोध हटाएको छ । २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध एमाले आफैंले अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो।
अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए।
ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेले आत्मसमिक्षा गरेर सच्चीएको बताएका छन् । उनले एमालेले विगतको समिक्षा गरेर सच्चिन तयार भएमा वाम एकतालाई पनि सहयोग पुग्न सक्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा अपेक्षीत परिणाम प्राप्त गर्न नसकेपछि एमालेले संसद अवरोध खोल्ने अप्रत्याशित निर्णय गरेको विश्लेषण गरिएको छ ।