नेताहरु गठबन्धनप्रति इमान्दार, परिणाम कस्तो आउला त ?
स्थानीय तह निर्वाचन आउन अब मात्रै ६ दिन बाँकी छ । मतदान मिति नजिकिएसँगै सत्ता गठबन्धन आक्रामक चुनावी प्रचार अभियान सहित निर्वाचनको तयारीमा जुटेका छन् । गठबन्धनले शुक्रबार काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा चुनावी सभा गरे । बिहीबार चितवनको भरतपुरमा संयुक्त चुनावी सभा गरेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मत मागेका शीर्ष नेताहरुले शुक्रबार सोही शैलीमा काठमाडौं महानगरका मतदातासँग मत मागे ।
गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एकअर्कालाई छाति फुकाएर मत मागे ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर र काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन काँग्रेस महाधिवेशनको म्यान्डेट नै भएको बताए । उनले भरतपुरमा रेनु दाहाल र काठमाडौं महानगर मेयरका उम्मेदवार सिर्जना सिंह सक्षम रहेको दावी समेत गरे । ‘सिर्जनाले प्रकाशमानसँग बिहे गर्नु र रेनु प्रचण्डको छोरी हुनु के गल्ती हो, उहाँहरूसँग के को कमी छ र ?’ देउवाको प्रश्न छ । महिला मेयर भएको ठाउमा राम्रा कामहरु भएको भन्दै उनले उनीहरु मेयर भए अझ राम्रो काम गर्ने अपेक्षा गरेको देउवाको भनाइ छ । गठबन्धन काँग्रेस महाधिवेशनको म्यान्डेट भएको भन्दै देउवाले अहिले केहीले विरोध गर्नु दुखपूर्ण रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा वामपन्थीबीच गठबन्धन बनाएर अघि बढ्न खोज्दा ठुलो धोका र षडयन्त्रबाहेक केही नपाएको स्मरण गरे । उनले त्यही धोका र षडयन्त्रपूर्ण व्यवहारका कारण पछिल्लो (पाँच दलीय) प्रगतिशिल लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाउनु परेको बाध्यता सुनाए ।
कुनै बेला राजनीतिक रुपमा एक अर्काप्रति ‘पानी बाराबार’को जस्तै व्यवहार गर्न पछि नपर्ने दलका शीर्ष नेताको यो पछिल्लो व्यवहार झट्ट हेर्दा अनौठो झै देखिन्थ्यो । तर, सवै दलका शीर्ष नेताहरु गठबन्धनप्रति इमान्दार देखिन्थे । उनीहरुले एकअर्का पार्टीका नेता कार्यकर्ताहरूलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । विगत लामो समयदेखि देउवाले रुख र प्रचण्डले हँसिया हथौडामा भोट माग्दै आएपनि यो पटक उनीहरुले रुपान्तरित ढंगले भोट माग्ने अभ्यासको थालनी गरेका छन् ।
दलका शिर्ष नेताहरु गठबन्धनप्रति पुरै इमान्दार र प्रतिबद्ध भएको घोषणा गरिरहँदाउनका कार्यकर्ताहरु भने एक अर्काप्रति आशंका र इश्याको नजरले हेरिरहेका पाइन्छ । नेताहरुले गरेको प्रतिवद्धता र भाषणले उनीहरुको मानसिकता कति परिवर्तन हुन्छ र भएको छ भन्ने हेर्न निर्वाचनको परिणाम नै कुर्नू पर्ने हुन्छ ।