त्यो भरतपुरलाई यो भरतपुर बनाउने रेनुकै फेरि आस, को हुन् रेनु दाहाल ?
भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो ।
जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।
नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा समेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन । अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनी ब्यहोनुपर्ने हैरानीले भरतपुरवासीलाई सधैं बिझाइरहन्थ्यो ।
साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनःर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गरेपछि यो भरतपुर महानगरपालिका बनेको हो ।
भरतपुर महानगरमा स्तरोन्नति त भयो तर महानगर हुनका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन । त्यही बीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन् ।
जब रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि उनी विधाता बनेर आइन् । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको ।
अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।
त्यो भरतपुर, यो भरतपुर !
२०७४ अगाडिसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटोघाटोको (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफ्नो कामको शुरुवात गरिन् ।
४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्रावेलको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतिमा उनले ध्यान खिचिन् । आफ्नै बुवा प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष, चितवनबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्र्याइन् ।
संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङरोड रु. ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङरोडको काम अगाडि बढाइन् । बाँकी ४८.०६५ किमि निर्माणको काम अहिले अगाडि बढिरहेको छ ।
पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु. १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमि सडकको काम पनि सँगसँगै अगाडि बढाइन् ।
यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंग नै बदल्ने कोसिस गरिन् । अहिले भरतपुर महानगरका भित्री सडक पनि पिच भएका छन् । यसले चितवनको स्वरुप नै बदलेको छ ।
राष्ट्रिय गौरवका आयोजना ५ वर्ष अगाडिसम्म भरतपुरवासीको कल्पनामै थिएनन् । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन् । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो । जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।
न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालीन काम नै पनि पूरा हुन्थ्यो ।
तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालीन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्बको हाराहारीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा व्यवस्थित जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीको अतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले ¥याफ्टिङ लगायतका लागि भीड नै लाग्छ मान्छेहरुको ।
पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ता ठाउँहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ–नयाँ होटलहरु खुलेका छन् ।
एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्काेतिर ठूलो लगानी चितवनमा भित्रिएको छ । जुन ५ वर्ष अगाडि उभिएर सोच्दा यसको कल्पना सायदै चितवन भरतपुरबासीले गरेका थिए । यो बीचमा भरतपुरमा कृषि विश्वविद्यालय नै बनेको छ । प्राविधिक क्षिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने ? विकल्प थिएन पहिले । तर अहिले विकल्पसहितको कृषि विश्वविद्यालय भरतपुरमा छ ।
शैक्षिक संस्थाहरु सुधारिएका र फेरिएका छन् । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासको थालनी गरेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७ प्रतिशतबाट वृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । यो पछिल्ला वर्षहरुमा पनि लगातार वृद्धि भइरहेको छ ।
कुल साक्षरता दर ९८.५ प्रतिशत पुगेको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य महानगरले गरेको छ । संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने काम महानगरले गरेको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी सबै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरेको देखिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन कार्यक्रमको थालनी महानगरले गरेको छ। महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ।
एमबीबीएस पढ्ने भरतपुरका विधार्थीले लगभग ४० हजार छात्रवृत्तिमा पाउने व्यवस्था महानगरले मिलाएको छ । छात्रालाई स्कुल आवतजावतका लागि साइकलको व्यवस्था महानगरले गरेको छ । मेयरसँग छात्रा कार्यक्रम त्यसमा जोडिएको छ । कतिपय ठाउँमा स्कुल बस थिएनन् । महानगरले नै स्कुल बसको व्यवस्थापन समेत गरेको छ ।
बोर्डिङसरह पढाइ गर्ने भनेर अंग्रेजी माध्यममा नमुना विद्यालय छनौट गरेर पढाइ शुरु भएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको सरस्वती माविजस्ता विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा घोषणा गरिएको छ ।
५ वर्ष अगाडिको तुलनामा यो बीचमा झण्डै ६ हजार बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् । अहिले करिब ४२ हजार विद्यार्थी भरतपुरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यसले गुणस्तरीय शिक्षाका लागि महानगरले दीर्घकालीन सोच राखेर कसरी काम गर्न खोजेको छ ? भन्ने रुपरेखा झल्काएको छ ।
पर्यटकीय नगरी सौराहामा सिटी हल बनिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम महानगरपालिकाले अगाडि बढाइरहेकै छ ।
यति मात्रै होइन, भरतपुर कृषि क्षेत्रमा पनि अहिले फेरिएको छ । किसानलक्षित गरी प्रतिलिटर ३ रुपैया अनुदान दिने व्यवस्था गरिएको छ । यो खालको अनुदान दिने व्यवस्था सम्भवतः नेपालमै पहिलो हो । महानगरमा दूध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइका काम सम्पन्न भएको छ । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता महानगरले गरेको छ ।
विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बिउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरण महानगरले गरेको छ । यसबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकारात्मक भूमिका खेलेको देखिएको छ।
आपतकालीन भवन महानगरले बनाएको छ । पहिले बाढी आउँदा बस्ने ठाउँ थिएन । तर अहिले विपदको बेला बस्न काम लाग्ने गरी आपतकालीन भवन महानगरपालिकाले रेनु मेयर भएपछि नै बनाएको हो । महानगरपालिकाभित्र साना ठूला गरी रू. ३ अर्ब ७७ करोडको लागतमा २४ वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यी आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा सतप्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुने देखिएको छ ।
भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भएको छ । जुन अहिले हस्तान्तरण समेत भइसकेको छ । भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्सरे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने योजना महानगरले अहिले बनाएको छ । त्यस्तै, शिवनगरमा ५० शैयाको आयूर्वेदिक अस्पताल सञ्चालन हुने चरणमा छ ।
रेनु महानगर मेयर निर्वाचित भएर आएदेखि यो ५ वर्षको अवधिमा ४० वटा स्वास्थ्य संस्था स्थापना महानगरपालिकाले गरेको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न भएको र ८ वटा भवन निर्माणाधीन अवस्थामा छ । संघीय सरकारको लगानीमा महानगरको वडा नं. १५ मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने क्रममा छ । देवघाटमा रु. ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाह गृह निर्माणाधीन अवस्थामा छ । महानगरपालिकाले अतिक्रमित ६६ बिघा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ ।
वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका वडा नं. २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन् । उनी मेयर भएर भरतपुर महानगर हाँक्न आउनु अगाडि ४० करोड ४२ लाख मात्र आम्दानी रहेकोमा गत आव २०७७÷०७८ मा महानगरको १ अर्ब ५ करोड आम्दानी पुगेको छ । यस हिसाबले महानगर आर्थिक रुपमा पनि अहिले सबल बन्दै जान थालेको छ ।
भरतपुरबासीलाई फेरि रेनुकै आश !
गएको ५ वर्षमा देशका ६ महानगरपालिकामध्ये भरतपुर महानगरले मात्रै महिला मेयर पाएको थियो । फेरि उनले महिला भए पनि अन्य महानगरका मेयरले भन्दा बढी नै विकास र समृद्धिको क्षेत्रमा काम गरिन् । उनले जति स्थानीय तहको जिम्मेवारी लिएर आएदेखि अन्य कुनै मेयरले त्यो स्तरमा काम गर्न सकेनन् ।
यस अर्थमा रेनु दाहाल ५ वर्ष भरतपुरको मेयरमा सफल मेयरका रुपमा चिनिइन् ।
उनले आफुले सकेजति काम गरिन् पनि । जनताले उनलाई जे अपेक्षा गरेर मत दिएका थिए, त्यो मतको उनले सक्दो सम्मान गरिन् भन्ने नै अहिले भरतपुरबासीको बुझाइ पनि देखिन्छ । उनी आफै पनि भन्छिन्, ‘मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनु भयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ ।’
भरतपुरमा अझै रेनुले खोलेको विकास र समृद्धिको ट्रयाकलाई गति दिन धेरै बाँकी छ । त्यही अधुरो काम गर्न उनी फेरि एकपटक मेयरका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छिन् ।
‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने मत छ। यहाँको वस्तुगत आवश्यकता पनि होला। अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसीप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो। त्यही भएर पनि होला जनताले फेरि एकपटक मेरै नेतृत्व भरतपुरमा खोजिरहनुभएको छ । त्यही कारण फेरि म उम्मेदवार बनेर आएको छु’ रेनु भन्छिन् ।
को हुन् रेनु दाहाल ?
झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।
उनको जम्म वि.सं. २०३३ असार २६ गते भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।
जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।
०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।
उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् ।
पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यति मात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निर्माणमा खटिएकी थिइन् ।