आमा भएर आमा सम्झँदा (कविता)

पुरू लम्साल
काठमाडौं
जब हाँस्छु
तब अलि धेरै आमाकाे याद आउँछ
जब रुन्छु
तब पनि आमाकाे यादले सताउँछ।
आमा
हिजो तिमी मुस्कुराउँथ्यौ
म पनि तिमीलाई हेरेर मुस्कुराउथेँ
आज छेउमा मुस्कुराई रहेको
सुनथैलीलाई हेर्छु
र सम्झन्छु तिम्रो ओठको हाँसो
मलाई यस्तो लाग्छ
तिमीलाई नभेटेरै पनि
तिमीलेजस्तै मुस्कुराउन
कसरी, सिकेकी होली सुनथैलीले ?
आमा
हिजो तिमी हिँड्थ्यौ
म तिम्रै औँलाहरु समातेर हिँड्थेँ
आज यो बिरानो बाटोमा
तिमी बिना म हराउँछुजस्तो लाग्छ ।
मलाई उद्देश्यविहीन हिँड्न हुन्न
भनेर सिकाउने तिमी मसँग छैनौ
म हेरिरहेकी छु लाच्लनलाई
हतारमा छे लाच्लन डार्लिंगसँग भेट्ने ।
तिमीलाई नभेटेरै पनि
कोसँग सिकेकी होली यसरी दौडन लाच्लनले ।
आमा
हिजो तिमी मेरो कपाल सुमसुम्याउँथ्यौ
र, म तिम्रो काखमा निदाउँथेँ ।
मलाई खुवाउँथ्यौ
र, आफु खान्थ्यौ ।
मेरो हाँसो तिम्रो ओठमा मुस्कुराउँथ्यो
मेरो पीडा तिम्रो आँखामा रसाउँथ्यो ।
मेरो भविष्य तिम्रो सपना थियो
मेरो रहर तिम्रो बाध्यता थियो
आज यस्तो लागिरहेछ आमा
तिमीले देखेका सपनाहरु
मेरा पनि रहेछन्
तिमीले जिन्दगीको खनेको बाटो
मेरो पनि रहेछ
तिमीले गरेको हर संघर्ष
मेरो भागमा पनि रहेछ
आमा
आज दु:खी पनि छु
किनकी तिमी मसँग छैनौ
तर खुसी पनि छु
मेरा सन्तानहरुले मलाई
आमा भन्न पाएका छन् ।।
०००
सुनथैली अस्ट्रेलियाको राष्ट्रिय फूल हो ।
लाच्लन र डार्लिंग अस्ट्रेलियाका नदीहरु हुन् ।