फुटपरस्त गतिविधि गरेको भन्दै विप्लवले हटाए वली र बास्तोला, के होला अब ?

मूलखबर संवाददाता
काठमाडौं, १४ बैसाख ।

एकीकृत जनक्रान्तिको नारा दिँदै शसस्त्र जनयुद्ध गर्ने तयारी गरेको भनिएका नेत्र विक्रम चन्द विप्लव शान्ति मार्गमा आएपछि पार्टीभित्र थप विघटन र फुटको अवस्था सिर्जना भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभाजन भएको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन हुने देखिएकाे छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई फुटपरस्त गतिविधि गरेको आरोप लगाउँदै पार्टीबाट कार्वाही गरेपछि झन यसको पुष्टि भएको हो ।

निर्वाचनमा सहभागी हुने विषयमा केही महिनाअघि सम्पन्न नेकपाकाे कन्द्रीय समितिमा विवाद भएकाे थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली र बाँस्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा हुनुहुन्थ्याे।

विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

हालै वलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए । साथै बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य निकालेका थिए ।