सबै माओवादी एकताबद्ध हुन प्रचण्डको आव्हान

मूलखबर संवाददाता
काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारामा रहेका नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको हो ।

उहाँले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विगतमा कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनका लागि नेकपा ९एमाले० सँग एकीकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी चिन्तनका कारणले सफल हुन नसकेको बताउनुभयो । उहाँले एमालेभित्रका बाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताउनुभयो । विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मूल घरमै फर्किने क्रम बढेको उहाँको भनाइ छ ।

प्रचण्डले माओवादी नै सबै परिवर्तनको सुत्रधार भएको र परिवर्तनविरोधीको सबै हत्कण्डाका विरुद्ध एकजुट भएर प्रतिरोध गर्नुपर्ने बताउनुभयो ।

साे अवसरमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । मोओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, काेटेश्वरमा आयोजित एक कार्यक्रममा  जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा.अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर लगायत प्रवेश गरेका हुन् ।  उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले खादा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।