प्रधानमन्त्रीले समय मागेपछि गठबन्धनको बैठक सर्यो
सत्ता गठबन्धनको बैठक सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँडको निर्णय गर्न आज मंगलबार साढे ११ बजेका लागि तय भएको गठबन्धन बैठक दिउँसो २ बजेका लागि सरेको हो । गठबन्धन दलका नेताहरुका अनुसार प्रधानमन्त्रीले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।
सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन । यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौं आइपुग्दै छ । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ ।