सामाजिक न्याय सहितको समाजवादकाे यात्रामा अगाडि बढ्ने उर्जा मिलाेस् – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्ननुभएको छ  ।

नयाँ वर्ष वि. सं. २०७९ सालको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भन्नुभएको छ –        नयाँ वर्ष वि. सं. २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।

देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु ।

०१ बैशाख, २०७९

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष