एमालेको निर्वाचन सार्न खोज्ने सबै हत्कण्डा असफल भए, अब चुनाव सर्दैन : अनन्त

मूलखबर संवाददाता
काठमाडौं, ३० चैत

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले निर्वाचन सार्न खोज्ने सबै हर्कतहरु असफल भएकाले अब चुनाव कुनै हालतमा नसर्ने बताउनुभएको छ ।

पार्टीको राजकीय मामिला तथा सुशासन विभागको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पुर्व स्थायी समिति सदस्य तथा पार्टी केन्द्रीय कार्यालय इन्चार्ज अनन्तले गठबन्धन बनेपछि अत्तालिएको एमालेले निर्वाचन सार्न अनेक हत्कण्डा चलाएको भएतापनि ती सबै असफल भएको बताउनुभयो ।

अनन्तले भन्नुभयो- यो निर्वाचन विशुद्ध निर्वाचन मात्रै होइन, यो संघियतालाई कार्यान्वयन गर्ने र परिवर्तनलाई संस्थागत गर्ने प्रक्रिया पनि भएकाले यसलाई सफल पार्नु र यसमा माओवादीले विजय प्राप्त गर्नु अपरिहार्य छ ।

अनन्तले एमालेले विदेशी शक्तिहरुलाई समेत साथ लिएर गठबन्धन तोड्न विभिन्न कोशिष गरेको, विप्लवलाई देखाएर निर्वाचन सार्ने, अदालतलाई लगाएर निर्वाचन रोक्ने, विभिन्न् जनप्रतिनिधि उचालेर भाँड्न खोज्ने र अनेक भ्रम पैदा गर्ने कोशिष गरेको तर सबै प्रयास असफल भएको बताउनुभयो ।

नेता अनन्तले माओवादीले एक्लै लडेपनि २ सय भन्दा वढि स्थानमा विजय हासिल गर्न सक्ने आधार भएकाले माओवादीले आत्तिनुपर्ने वा गठबन्धनको मात्रै भर पर्नुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले गठबन्धन बीचको एकता कसिलो भएको र कुनै विवाद नभएको पनि बताउनुभयो । बैठकमा सदस्यहरूले पार्टीको चुनावी अपिलमा सुशासनको विषय नै छुटेकाे टिप्पणी गरेपछि नेता अनन्तले साे विषय अपिल प्रकाशन गर्दा समेटिने प्रतिवद्वता व्यक्त गर्नुभयाे । उहाँले सुशासन पार्टीको मुल एजेन्डामा नै पर्ने उक्त विषय छुट्नु कमजोरी भएको बताउनुभयाे ।