पाकिस्तानका नयाँ प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित, इमरानका १५५ सांसदले दिए राजिनामा
पाकिस्तानको २३औं प्रधानमन्त्रीका रूपमा शेहबाज शरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग–नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।
पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३ सय ४२ सदस्यमध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिए ।
विपक्षी दलको नेतृत्व गर्दै आएका ७० वर्षीय शरिफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनलेले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने भएका छन् ।
विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्दा संसारभरि नै सकारात्मक सन्देश गए पनि कार्यकाल भने ठोस उपलब्धिबिना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गरेका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनुपरेको छ ।
पाकिस्तानका १ सय ५५ सांसदद्वारा राजीनामा
पाकिस्तानका १ सय ५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरूले राजीनामा दिएका हुन् । नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका खबर राजधानीमा छ ।