उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै माओवादी नेतृत्वका पालिका

दीपक शर्मा
काठमाडौं

सर्लाहीको बागमती नगरपालिकाको केही बर्ष अघिसम्म मध्यपूर्वी तराईका अन्य आम पालिकाजस्तै सरदर परिचय थियो। तर, गत वर्षदेखि यसको परिचयमा विशेषता थपिएको मात्र छैन, यसले अन्य पालिकाहरुलाई उदाहरण नै प्रस्तुत गरेको छ।

यस नगरपालिकाका मेयर भरत थापाले १२ नम्बर वडामा रहेको सुख्खा बगरमा ठूलो ताल निर्माणको सोच बनाएनन् मात्र त्यसलाई साकार नै बनाए। झण्डै १४ वटा फुटबल मैदान बराबरको आकारको विशाल तालमा हाल स्टिमर र ढुंगा चल्छन्। अहिलेसम्म उक्त तालमा पाँच लाखभन्दा धेरै स्वदेशी र विदेशी पर्यटक पुगिसकेका छन्। यो ताल नगरपालिकाको स्थायी आम्दानीको स्रोत बन्ने लक्षण देखिइसकेको छ।
स्थानीयवासीले ताल निर्माणको बहुआयामिक फाइदा पाउन थालिसकेका छन्। वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेका छन् भने छेउछाउका जमिनको उर्बरा शक्ति बढ्न थालेको छ । चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको छ।

सामाजिक, आर्थिक र पर्यावरणीय महत्वको यस्तो कामको अगुवाई गर्ने मेयर भरत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्। मधेश प्रदेशमै नमूना र सिर्जनशील कामको सुरुवात गरेर मेयर थापाले स्थानीय तहमार्फत् मानिसको जीवन र प्रकृतिमा परिवर्तन ल्याउन सक्ने देखाएका छन्।

सीमान्तकृत र पछि पारिएको थारु जातिको बाहुल्य रहेको बर्दियाको बारबर्दिया नगरपालिकाको नेतृत्व गरिरहेका दुर्गाबहादुर थारू ‘कबिर’ले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको शान्तिपूर्ण क्रान्तिको हाल उल्लेख्य चर्चा भइरहेको छ। पूर्वजनमुक्ति सेनाका कमाण्डर ‘कबिर’ले मानिसको जीवनलाई परिवर्तन गर्ने आधारभूत तत्व नै शिक्षा भएको महशुस गर्दै आफ्नो कार्यकालको ४ वर्ष ९ महिनामा उदाहरण स्थापित गरेका छन्।
मेयर थारुले नगरपालिकाकै अनुदानमा ११५ जना शिक्षक राखेर, पुराना भवन मर्मत गरेर, भवन नभएका ठाउँमा नयाँ बनाएर, विद्यालयमा घेराबारा गरेर, चरनस्थललाई खेलमैदानमा रूपान्तरण गरेर आफ्नो अभियान थालेका थिए। त्यस्तै, नगरपालिकाले छात्रवृत्तिअन्तर्गत एक–एक जनालाई एमबीबीएस, इञ्जिनियरिङ र सीए (चार्टर्ड अकाउन्टेन्सी) पढाउने सम्पूर्ण खर्च व्यहोर्ने नीति पारित गरे। नगरपालिकाले हरेक वर्ष ५० जनालाई अन्य विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्न पूर्ण छात्रवृत्ति दिएको छ।

शिक्षामा गरेको लगानीको प्रतिफल आउन केही समय लाग्छ। तर, अन्य पार्टीबाट नेतृत्व गरेका पालिका प्रमुखहरुले मानिसको जीवनमा खासै सकारात्मक प्रभाव नपर्ने संरचनामा खर्च गरिरहँदा वा भ्रष्टाचार गरिरहँदा माओवादी केन्द्रबाट निर्वाचित यी मेयरले शिक्षामा नमूना नै पेश गरेका छन्।

शिक्षामात्र होइनबारबर्दिया नगरपालिकामा स्वास्थ्य क्षेत्रमा पनि लोभलाग्दो काम भएको छ। यस नगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको छ, जुन बर्दियाका अन्य कुनै पालिकाले हालसम्म गर्न सकेका छैनन्। नगरपालिकाले सञ्चालन गरिरहेको १५ शैयाको आरसी चौधरी मेमोरियल अस्पतालले २५ शैयाको अस्पतालसरह सेवा दिइरहेको छ। यसलाई निकट भविष्यमै ५० शैयामा स्तरोन्नति गर्ने मेयर थारुको योजना छ।

चितवनको भरतपुर महानगरपालिका राजनीतिक कारणले मात्र होइन, ठूला विकास निर्माणका कारणले पनि चर्चामा आएको छ। माओवादी केन्द्रकी युवा नेता रेणु दाहालले जनताप्रति समर्पित भएर काम गर्दा परिणाम निकाल्न सकिंदो रहेछ भन्ने प्रमाणित गरेकी छन्। मेयर दाहालको कार्यकालमा महानगरपालिकाभित्र ६५० किलोमिटर नयाँ सडक बनेको छ। यही अवधिमा ६१० किलोमिटर सडक कालोपत्रै भइसकेको छ र ४० वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । सिटी हल निर्माण भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा महानगरले भरपुर सहयोग गरिरहेको छ।

यी त केही उदाहरणमात्र हुन्।माओवादी नेतृत्वले जितेका अधिकांश पालिकाहरुले उदाहरणीय काम गरेका छन्।
गत महिना राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका पालिकाहरुको सूची सार्वजनिक गरेको थियो। ती उत्कृष्ट पाँच पालिकामध्ये तीनवटा पालिकाहरुमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रमुख छन्। पहिलो नम्बरमा आएको डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट छन् भने तेस्रो नम्बरमा आएको कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी छन्। त्यस्तै, पाँचौ नम्बरमा रहेको गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल छन्।

नेपालकोसंवैधानिक आयोगले गरेको मूल्यांकनले नै माओवादीबाट निर्वाचित मेयर÷अध्यक्षले नेतृत्व गरेका पालिकाहरुमा कार्यसम्पादन उत्कृष्ट भएको देखाएको छ। तथ्यांक आफै बोलिरहेको छ।

गोरखाको सहिद लखन गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्लाको दोस्रो गाउँपालिका बन्न सफल भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा सहिद लखन जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो।
मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ वटा स्थानीय तहमा सहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो। माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकाले ६३.४६ अंक प्राप्त गरेर जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको आयोगले जनाएको छ। संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो।

कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए। समयमै बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए।

आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।आब ०७६÷७७ मा सहिद लखन गाउँपालिका सबैभन्दा कम बेरुजु देखिएर जिल्लाको ‘सर्वोत्कृष्ट’, नेपालभरीकै चौथो ‘उत्कृष्ट’ बन्न सफल भएको थियो। सहिद लखन गाउँपालिकामा ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ ८ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ। प्रतिशतका आधारमा यो ०.१० प्रतिशत हुन प्रतिशत हुन आउँछ।

यहाँ स्मरणीय छ, गत स्थानीय तहमा माओवादीले अन्य दुई ठूला दलभन्दा कम पालिका प्रमुखमा जित हासिल गरेको थियो। तर, जतिमा जीत हासिल गरेको छ, अधिकांशमा अन्य पार्टीले नेतृत्व गरेका पालिकाभन्दा राम्रो काम भएको छ।

माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरुले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा जोड दिने, पर्यावरण जोगाउन ध्यान दिने, विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्ने काम गरिरहेका छन्। उनीहरु ज्यादा सिर्जनशील देखिएका छन् र जनताको पक्षमा काम गरौं भन्ने भावना उनीहरुमा बढी देखिएको छ।