योजनाबद्ध उतारिएको भिडले राजवादी उत्साहीत, दलहरुको ज्ञानेन्द्रलाई चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, २६ फागुन ।

पुर्व राजा ज्ञानेन्द्रलाई पोखराबाट काठमाडौं आउँदा विमानस्थलदेखि निर्मल निवास पुर्याउन दुईमहिनादेखि तयारी गरेर मानिस जम्मा पारिएको देखिएको छ । राजावादीहरुको शक्ति प्रदर्शन गर्ने र सरकार तथा दलहरुलाइ देखाइदिने मनसायको साथ उक्त योजना निर्माण गरिएको थियो । आइतबार त्रिभुवन विमानस्थलमा देखिएको मानिसहरुको भिड विभिन्न जिल्लाहरुबाट पैसा खर्च गरेर ल्याइएको मानिसहरुको समुह भएको एक सहभागि नेताले बताए । उनका अनुसार काठमाडौं आसपासका जिल्लाहरुबाट गाडि र मोटरसाइकलमा मानिसहरु उतारिएको थियो ।

फागुन ७ गते ज्ञानेन्द्रले दिएको वक्तव्यपछि आजको उपस्थितिका लागि माहोल बनाउन थालिएको थियो। राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँ समूहले काठमाडौँ उपत्यका आसपास मात्र होइन, अन्य जिल्लाबाट समेत जुलुसका सहभागीहरुलाई बटुलेर ल्याएका थिए। यतिसम्म कि उनीहरुबीच ज्ञानेन्द्रको विश्वास कसले जित्ने र को बढी नजिक हुने भन्ने प्रतिस्पर्धा नै चल्यो।

झण्डै एक महिना पोखरा बसेका ज्ञानेन्द्रलाई सडकमा हिँडाएर पनि आममानिसको ध्यान आकर्षित गर्ने प्रयास गरिएको थियो। पोखराबाट फर्कँदा स्वागत गर्न भनेरै जिल्ला–जिल्लामा कार्यकर्ता परिचालन गरिएको थियो।

राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार उपत्यका आसपासका जिल्लाबाट मानिस ल्याउन एक महिनादेखि नै गृहकार्य गरिएको थियो।

कांग्रेस–एमाले गठबन्धनले जनतामा आशा दिने काम नगरेकोले पूर्व राजाले टाउको उठाउन मौका पाएको माओवादी प्रवक्ता अग्नि सापकोटा बताउँछन्। जनताको शक्तिबाट विस्थापित भएका पुर्व राजा ज्ञानेन्द्रलाई संविधानभन्दा वहिर गएर गतिविधि नगर्न र इच्छा भए चुनाव लड्ने तयारी गर्न दलहरुले चेतावनी दिएका छन् ।

सरकारकै कारण यो अवस्था आएको र राजावादीको उक्साहटमा ज्ञानेन्द्र हौसिएको सापकोटाको भनाइ छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर जनतामा डेलिभरी दिन सक्नुभएन। सरकार सेवा प्रवाह र सुशासनमा असफल भएको छ। यही मौकामा राजावादी केही हुन्छ कि भनेर हौसिएका छन्,’ उनले भने, राजतन्त्र फर्कने त सम्भावनै छैन।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कांग्रेसका नेताहरुले पनि ज्ञानेन्द्रलाई हिम्मत भए चुनाव लडेर आउन चेतावनी दिएका छन् ।