राखेपमा घिसिङको ‘रि इन्ट्री’ : यस्ता छन् योजना

मूलखबर संवाददाता
काठमाडौं, २३ चैत

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवमा टंकलाल घिसिङको इन्ट्री भएको छ । उनको नियुक्ति ४ महिना अघि नै भएको भएतापनि पुर्व सदस्य सचिव रमेश सिलवालले मुद्धा हालेपछि घिसिङले जिम्मेवारी बहन गर्न पाएका थिएनन् । उनी पुन सदस्य सचिवको जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर त्यो नियुक्ती खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो ।

जिम्मेवारी सम्हाले लगत्तै घिसिङले आफ्नो आगामी मार्गचित्र र तत्कालका योजना सार्वजनीक गरेका छन् । उनले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

त्यसैगरी नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने पनि उनले बताए । अबको ५ महिनामा एशियाली खेलकुद हुँदैछ । त्यसका लागि तत्काल संघहरुलाई बोलाएर छलफल गर्ने र तयारी थाल्ने उनको योजना छ ।