बढे ३६ लाख ६१ हजार मतदाता : जम्मा मतदाता १ करोड ७७ लाख ३३ हजार

मूलखबर संवाददाता
काठमाडौं, १४ चैत

पछिल्लो पाँच वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदानमा भाग लिन पाउनेछन् । २०७४ को स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता थिए ।

सरकारले माघ २४ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो । त्यसको भोलिपल्टदेखि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो । ‘२०७८ माघ २४ सम्म मतदाता नामावलीमा सूचीकृत नागरिकले आगामी स्थानीय तह निर्वाचनमा भाग लिन पाउनेछन्,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘त्यसबेलासम्म संकलन भएको विवरणलाई वडा तहसम्म छानबिन गरी आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।’

मुलुकमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भए पनि मतदातामा भने पुरुष बढी छन् । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता १ सय ८३ जना छन् । पाँच वर्षयता यो समुदायका ३९ जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पुरुष मतदाता महिलाभन्दा ८६ हजार २६ जना धेरै थिए । ‘जनसंख्यामा जस्तै मतदातामा पनि महिला बढी हुनुपर्ने हो तर कम देखिएका छन्,’ आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘महिलाले घर व्यवहार सम्हाल्नुपर्ने र केहीको नागरिकता नभएकाले फोटोसहितको मतदाता परिचयपत्र बनाउन समस्या भएको हुन सक्छ ।’

मतदाता सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ जना रहेको आयोगले जनाएको छ । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना छन् । स्थानीय तहअनुसार काठमाडौं महानगरमा सबैभन्दा बढी ३ लाख २ सय ४२ मतदाता छन् । पोखरामा २ लाख ७ हजार, भरतपुरमा १ लाख ८५ हजार मतदाता छन् । सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ जना मतदाता छन् ।