विकास र उत्पीडितकाे अधिकार रक्षाका लागि पनि माओवादीले जित्न अनिवार्य छ : प्रचण्ड

मूलखबर संवाददाता
गाेरखा, १२ चैत

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन् । देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको उनले बताए ।

शनिबार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनलेे निर्वाचन लाखौं जनताको सपनाहरू सफल पार्ने वा विफल पार्ने भन्ने लडाइँ भएको बताए ।

‘बच्चालाई साँचो माया बच्चा जन्माउने आमा र बाबालाई हुन्छ । मुख्य त आमालाई हुन्छ, सौतेनी आमालाई हुँदैन,’ उनले भने, ‘यहाँ हामीले जन्माएको बच्चालाई सौतेनीहरूले मार्ने षड्यन्त्र गर्दै छन्, त्यसकारण खबरदारी गर्ने जिम्मा तपाइँ-हाम्रो हो ।’

अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरुले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उनले बताएका थिए । ‘अरुका लागि स्थानीय तहको निर्वाचन निर्वाचन मात्र होला, माओवादी केन्द्रका लागि निर्वाचन मात्र होइन, सहिद, वेपत्ता योद्धा, लाखौं जनताका सपनाहरू सफल पार्ने कि विफल पार्ने भन्ने लडाइँ हो,’ उनले भने,‘ अरुलाई जित्दा वा हार्दा फरक पर्दैन, हाम्रो लागि आउँदै गरेको चुनाव लडाइँ हो, हामीले हार्दा गणतन्त्र हार्छ, समावेशी समानुपातिक, सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिन्छ, हामीले जित्दा बच्नेछ ।’