गठबन्धनकाे चिन्ता नगरी एक्लै चुनाव जित्ने तयारीमा लाग्नुस् – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २ चैत

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको आस गर्नु भन्दा आफ्नै बलमा चुनाव जित्ने तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास समितिकाे संयुक्तरूपमा आयाेजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामि स्थानीय निर्वाचन जिवन मरणकाे प्रश्न बनेकाले जसरी पनि निर्वाचन जित्न निर्देशन दिएका हुन् ।

उनलेे निर्वाचन जितेमा सानाे हैसियतकाे नेता पनि ठुलाे छाति बनाएर हिँड्न सक्ने र पराजित भएमा केन्द्रीय सदस्य पनि मुख लुकाएर हिँड्नु पर्ने भएकाले अहिले पार्टी हैसियतमा चिन्ता नगर्न र निर्वाचनमा केन्द्रित हुन अपिल गरे ।

प्रचण्डले जनतासँग एकाकार भएर जान, जनताको पक्षमा काम गर्न जनविरोधी र गुन्डागर्दी गर्नेका विरूद्व प्रतिरोध गर्न पनि निर्देशन दिएका छन् । माओवादी भनेको फरक धातुका मान्छे हुन् भन्ने पुनः एकपटक देखाइदिन आवश्यक छ प्रचण्डले भने हामि जागेपछि प्रतिगामीहरू परास्त हुन्छन् भन्ने कुरा हामीले प्रमाणित गरिसकेका छाैं।