माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक : एमसिसिमा प्रचण्डको स्पष्टीकरण, नारायणकाजीकाे असहमति

मूलखबर संवाददाता
काठमाडौं, २१ फागुन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिकाे बैठक आइतबार बस्ने गरी शुक्रबार सकिएको छ । बैठकमा अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठले संवाेधन गरेका र एकताबद्ध भएर जाने सहमति भएको एक नेताले बताएका छन् ।

राजधानीमा शुक्रबार शुरू भएको बैठकमा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा समस्या आए सम्झौता तोड्न पनि सकिने बताउनुभएको छ ।

केन्द्रीय समितिको बैठकमा शुक्रबार एमसीसीबारे उठेका प्रश्नहरूको जबाफ दिँदै उहाँले भन्नुभयो, “व्याख्यात्मक घोषणाअनुसार कार्यान्वयन भए ठीक छ, नभए सम्झौता स्वतः निष्क्रिय हुने प्रावधान छ ।” सत्ता गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो– “नेपालको संविधान, कानुन र सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन ।”

बैठकमा सहभागी नेता देवप्रसाद गुरुङका अनुसार अध्यक्ष प्रचण्डले परिमार्जनबिना एमसीसी पारित गर्ने पक्षमा माओवादी नभए पनि गठबन्धनलाई जोगाउन व्याख्यात्मक घोषणामा सहमति भएको प्रस्ट पार्नुभयो ।

बैठकमा व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी नै लागू हुने भएकाले नेताकार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभएको गुरुङले बताउनुभयो ।

नेकपा (एमाले) र नेपाली काँग्रेस मिल्दा सभामुखको पद पनि नजोगिने अवस्था रहेकाले पार्टीले टेबुलसम्म गर्न दिने नीति लिएको प्रचण्डको भनाइ छ ।

शान्ति प्रक्रिया सम्पन्न भएको अवस्था हुन्थ्यो भने एमसीसीका बारेमा फरक निर्णय लिन सकिने प्रचण्डको दाबी छ । बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता अनुमोदनमा पार्टीले सहमति गरेकोमा आलोचना गर्नुभयो ।

एमसीसीलाई बल्छीको संज्ञा दिँदै श्रेष्ठले भन्नुभयो– “एमसीसीको मूल उद्देश्य अमेरिकाको सुरक्षालाई सुदृढ गर्ने र हतियार प्रयोग गरेर आफ्नो विचार, राजनीति, आर्थिक, सामाजिक प्रणालीलाई विस्तार गर्ने हो ।”

एमसीसीको उद्देश्य गम्भीर प्रकृतिको रहेको चर्चा गर्दै उहाँले बैठकमा असहमति राख्नुभयो । शुक्रबारको बैठक समसामयिक राजनीतिसँगै एमसीसीका बारेमा केन्द्रित रहेको नेता गुरुङले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले बोल्नुभयो । एमसीसी अनुमोदनमा असहमति जनाउने नेताहरू गुुरुङ, कृष्णबहादुर महरा, लीलामणि पोखरेलले पार्टीको निर्णय मान्ने तर असहमतिको मत सुरक्षित हुनुपर्ने माग अध्यक्षसँग राख्नुभएको छ ।

एमसीसीकै कारण पार्टी विभाजित हुनबाट रोकिएको नेताहरूको भनाइ छ । नेता गुरुङले भन्नुभयो–“फरक मतमा पार्टीभित्र छलफल चलिरहन्छ, मतभेद भइरहन्छन् तर समझदारीमा व्यवस्थापन गर्दै जानुपर्छ । आज दुवै नेताको अभिव्यक्तिमा एकताबद्ध भएर अगाडि जानुपर्छ भन्ने नै छ, पार्टी एकतामा कसैले पनि शङ्का नगरे हुन्छ ।”

बैठक यही फागुन २२ गते पुनः बस्ने छ । महाधिवेशनले तय गरेको कार्यदिशाअनुसार कार्यनीति बनाउने साङ्गठनिक काम तथा जिम्मेवारी बाँडफाँट र स्थानीय तह निर्वाचनको तयारी र रणनीति बैठकले तय गर्ने छ ।