युद्व फरक रूपले जारी छ, एकताबद्ध भएर लडाैं : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीले लामो स‌ंघर्षबाट प्राप्त उपलब्धि गुम्ने त होइन भन्ने चिन्ता भएको बताएका छन्। जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न तह आन्दोलनबाट प्राप्त उपलब्धि एमसीसीकै कारणले कारणले गुम्ने त होइन भन्ने स्थिति आएको धारणा राखेका हुन्।

गठबन्धन बनाउँदा र साझा न्यूनतम कार्यक्रम बनाउँदा एमसीसी नराखेको स्मरण गरे। उनले बिना संशोधन एमसीसी सम्झौता पास नगर्ने माओवादीको अडान रहेको उल्लेख गर्दै उनले यसकै कारणले गठबन्धन टुट्ने र प्रतिगमनकारी पुन हाबी हुने त होइन भन्ने अवस्था आएको धारणा राखे।

उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट अझै खतरामा पर्ने देखिएको बताए। उनले भने, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस् भनेर छलफल भइरहेको छ।’

उनले प्राप्त उपलब्धिको रक्षाको लागि र थप उपलब्धका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने संकल्प लिएर अगाडि बढ्नुपर्ने बताए।

उनले युद्ध नसकिएको र नरोकिएको बताए। ‘हामीले फेरि नयाँ परिवेशमा पनि युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो। युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो। राजनीति भनेको रक्तपातहीन युद्ध नै हो। अहिले हामी रक्तपातहीन युद्धमा छौं। युद्ध सकिएको छैन, युद्ध रोकिएको छैन।’ प्रचण्डले भने, ‘खाली हामी हिंसामा छैनौं अहिले। बन्दुक लिएका छैनौं हामीले तर युद्ध त जारी छ। पार्टीहरु र राज्यले बुझ्न जरुरी छ। सबैतिर संघर्ष गर्न जरुरी छ।’