यथास्थितिमा MCC अनुमाेदन गर्न सकिन्न, दमन राेक : माधव नेपाल

मूलखबर संवाददाता
काठमाडौं, ८ फागुन

नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आज टेबुल गरिएको एमसिसि यथास्थितिमा अनुमाेदन गर्न नसकिने स्पष्ट पारेका छन् ।

सत्ता गठबन्धनको एकक दलका प्रमुख तथा पुर्व प्रधानमन्त्री नेपालले विराेध गर्न पाउनु सबैकाे अधिकार भएकोले दमन नगर्न र घाइतेको उपचार गर्न सरकारलाई माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –

यथास्थितिमा MCC संसदबाट अनुमोदन गर्न नसकिने हाम्रो पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौं ।

असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय हो ।

अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गंभीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु ।