आज गठबन्धनकाे शिर्ष बैठक, एमसिसि र सरकारबारे निर्णय हुने

मूलखबर संवाददाता
काठमाडौं, ५ फागुन

एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नबनेपछि अाज गठबन्धनकाे शिर्ष बैठक बस्ने भएको छ ।  बुधबार नै एमसीसी परियोजना अघि बढाउने विषयमा सहमति नजुटेपछि सोसम्बन्धी प्रस्ताव पेस गर्नबाट सरकार ब्याक भएको थियाे । बुधबारकै प्रतिनिधि सभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भए पनि गठबन्धन आबद्ध दलबीचमा सहमति नजुटेपछि सरकार ब्याक भएको हो । माओवादी केन्द्रले यथास्थितिमा एमसिसि टेबुल गर्न नसकिने र जबर्जस्ती गरेमा सरकार छाड्ने निर्णय गरेपछि सरकार पछि हटेकाे हाे ।

एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमासमेत सहमति नजुटेपछि पुनः सत्ता गठबन्धनमा एमसीसी’ छलफल गरेर अघि बढ्ने सहमति भएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षको बुधबारको भेटवार्तापछि आज बिहीबार ३ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बालुवाटारमा बस्ने बैठकमा एमसीसी परियोजना’ गठबन्धनले लिने थप रणनीति’ छलफल हुने बताइएको छ ।  बुधबार प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले प्रतिनिधि उपस्थित भएनन् । गठबन्धन दलका सचेतकहरूले विपरीत धारणा राखेका थिए । ‘बैठकमा एमसीसी पेस गर्न दलका सचेतकहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेपछि कार्यसूचीमा राखिएन,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारका तर्फबाट पहिलो पटक कानुनमन्त्री दिलेन्द्र बडूले एमसीसी सम्झौता अघि बढाउन प्रस्ताव राखेका हुन् । बुधबार नै टेबल नगर्न दलहरू सहमत भए पनि शुक्रबारको बैठकबारे आ–आफ्नै तयारी छन् ।