एमसिसिविरूद्व सडकमा प्रदर्शन : यथास्थितिमा टेबुल नगर्न खबरदारी

मूलखबर संवाददाता
काठमाडौं, ४ फागुन

एमसिसीकाे विराेधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।

सरकारले आज दिउँसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दाेलन घाेषणा गरेका हुन् । उनीहरूले संशोधनविना नै यथास्थितिमा टेबुल नगर्न खबरदारी दिएका छन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले ‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम छ । अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्दैछ । एमसिसी’bout रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक बस्दैछ ।

अन्य दल र समूहकाे पनि प्रदर्शन

एमसिसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसिसीकै विराेधमा आज नेपाल बन्दकाे घाेषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसाे १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विराेध प्रदर्शन हुने नेताहरुले बताएका छन् । त्यस्तै ‘एमसिसीविरुद्ध जनआन्दोलन-२०७८’ ले एमसिसी सम्झौताविरुद्ध बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसिसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले पनि दिउँसाे १२ बजे माइतीघरमा विराेध प्रदर्शन गर्दैछ । राप्रपाका भातृ संगठनले पनि दिउँसाे १२ बजे बबरमहलदेखि संसद भवनसम्म विराेध प्रदर्शन गर्ने कार्यक्रम छ ।