आज जनयुद्ध दिवस : माओवादीहरू एकताबद्ध बन्न अपिल

मूलखबर संवाददाता
काठमाडौं, १ फागुन

आज फागुन १ । २७ वर्षअघि आजकै दिन नेकपा माओवादीकाे नेतृत्वमा जनयुद्ध शुरू भएको थियाे । नेपाली ईतिहासमै लामाे र परिवर्तनकामी सशस्त्र संघर्षको रूपमा पहिचान बनाउन सफल जनयुद्धको बलमा १९ दिने जनआन्दोलन मार्फत नेपालबाट २४० वर्षको राजतन्त्रको अन्त भई संघिय लाेकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

यस अवसरमा माओवादी केन्द्रसहित सबै माओवादी घटक र समुहहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् । माओवादी केन्द्रले पेरिसडाँडामा कार्यक्रम गरि जनयुद्ध दिवस मनाउन लागेको छ ।

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै माओवादी धाराका सबै समूह र घटकहरूलाई एकताबद्ध भएर परिवर्तनका विराेधिहरूसँग लड्न अपिल गरेका छन् ।

हेराैं उनकाे सन्देश

जनयुद्ध दिवसको शुभकामना

२७ औं जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान् जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । महान् जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका योद्धाहरु, घाइते योद्धाहरु र उहाँहरुका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ । नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु ।

यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु । छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गर्दछु ।

१ फागुन, २०७८

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष