एमसीसी पारित गर्न शिर्ष नेतालाई अमेरिकी मन्त्रीको चेतावनी : कसले के दिए जवाफ ?

मूलखबर संवाददाता
काठमाडौं, २७ माघ

अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्न निर्देशनात्मक चेतावनी दिएका छन् ।

एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी पनि दिएका छन् ।

फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिक्रिया आएपछि अमेरिकी मन्त्रीले टेलिफोन गरेका हुन् ।

माओवादीका एक नेताले पनि प्रचण्डसँग टेलिफोन वार्ता भएको पुष्टि गरे। लुले माओवादी अध्यक्ष प्रचण्डलाई फेब्रअरी २८ भित्र एमसीसी पास गर्ने पत्रमा हस्ताक्षर गरेको स्मरण गराउँदै अनुमोदन गर्न आग्रह गरेको ती नेताले बताए। त्यस्तै बालुवाटार स्रोतले समेत प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको पुष्ट गरेका थिए। उनले प्रधानमन्‍त्री देउवासँग एमसीसी टेबुल गर््न माग गरेका थिए ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार विदेशमन्त्री लुले ओलीलाई ‘एमसीसी तपाईंहरु सबै मिलेर पारित गर्नुहोस् भनेर आग्रह गरेका थिए ।

पारित नगर्दा अप्ठेरो पर्छ सहमति भईसकेको विषयमा अलमल नगरिकन तपाईंहरुले पारित गर्नहोस् । त्यसो गर्नु नै नेपाल अमेरिका सम्बन्धका लागि राम्रो हुन्छ’ लुले ओलीसँग राखेको भनाई उल्लेख गर्दै भट्टराईले भने ।

ओलीले भने एक दुईवटा विषयहरुका कारण नेपाल र अमेरिकाको सम्बन्ध तलमाथि नहुने बताएका थिए । ‘सत्तारुढ पार्टीहरु मिलेका छन् तपाईंले यहाँ आएर बुझ्नुभएकै छ । त्यसैले जे कुरा उहाँहरुले ल्याउनुहुन्छ । हामी हेरिरहेका छ‌ौं । उहाँहरुले पोजिसन नबनाएका कारण हामीले पनि अहिले पोजिसन बनाउनु आवश्यक ठानेका छैनौै‌ं’ ओलीले लुलाई भनेका थिए,’ नेपाल अमेरिकाकाे सम्बन्ध एउटा-एउटा इस्यूका आधारमा तलमाथि हुन्छ भन्ने ढ‌ंगले हेर्नु हुँदैन ।’

का‌ंग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीकै सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन विना पारित गर्न नसकिने जवाफ दिएका थिए । उनलेे अरू कसैले दबाब नदिएकाे र आफु र आफ्नाे पार्टी राष्ट्र र जनताको हितकाे पक्षमा निर्णय गर्न स्वतन्त्र र सार्वभाैम रहेको बताएका थिए  भने प्रधानमन्त्री देउवाले आफु पारित गर्न गठबन्धन दल र अन्य दल सँग परामर्श गरिरहेको जवाफ दिएका थिए । उनलेे प्रचण्डलाई कुरा गर्न सुझाव दिएका थिए ।