सुप्रसिद्व गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन

मूलखबर संवाददाता
काठमाडौं, २३ माघ

प्रसिद्ध गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्।

उनको निधनमा नेपाल र भारतलगायत दक्षिण एशियाका देशहरूबाट शाेक व्यक्त गरिएको छ । नेपाली गितहरूमा स्वर दिएकी उनलाई प्रत्येक नेपालीले उच्च सम्मान गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले पनि उनकाे निधनमा शाेक व्यक्त गरेका छन् ।

प्रचण्डको सचिवालयले उनको निधनले सांगीतिक क्षेत्रमा  अपुरणिय क्षति भएको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन्।

मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने” बताउँदै उनले “दशकौँसम्म भारतीय चलचित्र जगत्लाई नजिकबाट नियालेकी” बताएका छन्।