
राष्ट्रसङ्घको सुरक्षा परिषद्मा युक्रेनबारे अमेरिका र रूसबीच चर्काचर्की,
युक्रेनसँगको आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ।
राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्।
उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए।
रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्।
प्रतिबन्धका तयारी
ब्रिटिश विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताइसकेकी छन्।
एकजना अमेरिकी अधिकारीका भनाइमा वाशिङ्टनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ।
रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ।
सोमवारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए।
उनले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिए।
रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उनको भनाइ छ । – बीबीसी
