चिनले नाकामा सजिलाे बनाइदिएकाे छ – महावाणिज्यदूत

मूलखबर संवाददाता
काठमाडौं, १८ माघ

तिब्बत स्वशासित क्षेत्रका नवनियुक्त अध्यक्ष यान चिनहाईले तिब्बतले विभिन्न कठिनाइका बाबजुद नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिइरहेको बताएका छन् । दुई वर्षदेखि तिब्बती नाकामा अवरोध भइरहेको गुनासो आइरहेका बेला चिनहाईको यस्तो धारणा आएको हो ।

तिब्बतको अध्यक्ष पदमा नियुक्त भएपछि त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीसँगको भेटमा उनले नेपालसँग राम्रो सम्बन्ध बनाउने विषय उठाएका थिए । दक्षिण एसिया छिर्ने चीनको गेटवे भएकाले नेपालसँगको सम्बन्धमा चीनले सधैं नै उच्च प्राथमिकता दिँदै आएको बताउने गरेको छ ।

कोभिडबाहेक अन्य कुनै कारणले पनि नेपाल–चीन नाकामा आयातनिर्यातको काम प्रभावित नभएको नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए । ‘उचाइमा रहेको तिब्बतमा अक्सिजनको आपूर्ति एकदम कम हुन्छ । कोभिड छिरेमा स्वास्थ्य प्रणाली डामाडोल हुने भएकाले यस विषयमा चीन चिन्तित छ । त्यसैले नाकामा कडाइ गरेको हो, कुरा त्यत्ति हो,’ उनले भने ।

चीनले दुई वर्षदेखि कोभिडका कारण परिमार्जन गरेको अन्तर्राष्ट्रिय बन्दरगाहसम्बन्धी नीतिलाई अझै हेरफेर गरेको छैन । नेपाल मात्रै नभएर चीनका अन्य छिमेकी मुलुक मंगोलिया, लाओस, बैंककलगायत देशमा पनि चीनले उस्तै नियम लगाएको छ । ‘नेपाल नजिकको छिमेकी भनेर नै चीनले यति सजिलो गरिदिएको हो,’ ढकालले भने । याे खबर कान्तिपुरमा छ ।

चीनले तातोपानी नाकाबाट दैनिक २० चिनियाँ ट्रक सामान नेपालतर्फ पठाउने गरेको छ । परिमाण नबढाउनुको कारण ‘क्यारिङ’ क्षमता हेर्नुपरेकाले पनि हो । क्वारेन्टिनको प्रक्रियादेखि चीनबाट पठाइएका ट्रक फर्किन समय लाग्ने भएकाले परिमाण नबढेको ढकालको भनाइ छ । ‘तातोपानीबाहेक केरुङ नाकाबाट प्रतिदिन ९ वटा ट्रक सामान नेपाल भित्रिरहेका छन्, अझै बढी सामान त पठाउन सकिने हो,’ ढकालले भने, ‘यसबारे कुराकानी चलिरहेको छ । प्रतिदिन २०/२५ वटा ट्रक पठाउने गरी केही नयाँ मोडालिटी तयार गर्न कोसिस गरिरहेका छौं ।’

चीनले कोरोनामा सचेतना अपनाउन ‘जिरो कन्ट्याक्ट पोलिसी’ अपनाएको छ । अहिले नेपालतर्फ चिनियाँ ट्रक र चालक पनि जान पाउँदैनन् । त्यसैले सीमामा सामान पुर्‍याएर ट्रली कन्टेनरमा हालेर लैजाने गरिएको छ । सीमित कन्टेनर पुगेर फर्किन समय लाग्ने र नेपालतर्फ पर्याप्त पार्किङ स्पेस नभएको उनले बताए । चीनबाट लोड गरिएका सामान बेलैमा नेपाल नपुगेकाले नेपाली व्यवसायी निराश छन् । नेपाली व्यापारीले नाका समस्या समाधान गर्न पटकपटक ज्ञापनपत्र बुझाउने गरेका छन् । नेपालसँगको नाकामा सहज बनाइदिन बेइजिङ, तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास, नेपालको वाणिज्य मन्त्रालयलगायतले प्रयास गरिरहेको सरकारी अधिकारीको दाबी छ । चीनमा अन्तर्राष्ट्रिय सीमाको विषय केन्द्र (बेइजिङ) ले हेर्ने गर्छ ।