एमसीसी यत्तिकै पारित गरेमा घाेर राष्ट्रघात हुन्छ : भिम रावल

मूलखबर संवाददाता
काठमाडौं, १७ माघ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले  नेता डा. भीमबहादुर रावलले एमसीसी यत्तिकै पारित गरेमा घाेर राष्ट्रघात हुने बताएका छन् ।   नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । प्रधानमन्त्रीले वा दलका नेताहरुले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने उनको टिप्पणी छ । उनले आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि स्पष्ट पारे।

उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराइएको पनि स्पष्ट पारे । उनले भने,‘जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनु भएको छ । वास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछि मात्रै मैले थाहा पाएको हुँ ।’

समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले कानुन र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु नहुने बताए। उनले भने,’हामीले संविधान र ऐन निर्माण गर्दा स्थानीय तहको निर्वाचन गर्ने कुरा गरेका छौं, हामीले यस (स्थानीय तह) ले पाँच वर्ष अवधि पूरा गरेपछि निर्वाचन गर्ने कुरामा सहमति जनाएका हौं । यो निर्वाचनमा जाने कुरामा कानुन र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु हुँदैन् भन्ने मेरो स्पष्ट धारणा छ । मलाई लाग्छ–लोकतन्त्रमा विश्वास गर्ने नेपालीहरुको धारणा त्यही नै छ।’

नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा रावलले जोड दिए । उनले भने, ‘हामी संवेदशीनल भू-राजनीतिक अवस्थामा छौं । हाम्रो देश कुनैपनि शक्ति राष्ट्रसँग जान मिल्दैन् ।’