फुटबल : माैरिससमाथि नेपालकाे जित, विमलकाे गाेल निर्णायक
नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिससविरुद्ध जीत हासिल गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जीत दिलाउन विमल घर्ति मगरकाे गाेल निर्णायक रह्याे । विमलले खेलकाे ५५औं मिनेटमा गोल गरेका हुन् । उनले १८ यार्ड क्षेत्रबाट सानदार गोल गरे । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।
अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं अन्तर्राष्ट्रिय गोल हो । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका विमल सन् २०१९ को नोभेम्बरमा विश्वकप छनौट अन्तर्गत जोर्डनसँगको खेलयता राष्ट्रिय टोलीमा परेका थिएनन् ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।
खेलमा नेपालको दुई वटा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अन्जन विष्टको दुईवटै प्रहार क्रसबारमा लागेर फर्किएको हो । पहिलो हाफमा औसत प्रदर्शन गरेको मोरिसस दोस्रो हाफमा कमजोर बनेको थियो । दोस्रो हाफको सुरुमै मोरिससका फर्नान्डो ज्याक्सनको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।
विमलको गोलसँगै नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकालेको यो पहिलो पटक हो । संयोगबस नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पनि दशरथ रंगशालामा पहिलो जित हो । नेपाले ११ बर्षअघि पोखरामा भएको मैत्रीपूर्ण खेलमा भुटानलाई पराजित गरेको थियो । निर्णायक गोल गर्न सफल विमल ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले ७५ हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई रंगशाला प्रवेश दिईएको थियो ।
मोरिसससँगको खेलसँगै मिडफिल्डर जगजित श्रेष्ठ र देवेन्द्र तामाङले पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको छ । अस्ट्रेलिया बस्दै आउनुभएका जगजित यसअघि सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध खेलेपछि राष्ट्रिय टोली बाहिर हुनुहुन्थो । देवेन्द्रले सन् २०१९ पछि राष्ट्रिय टोलीमा खेल्नुभएको हो । यसैगरी मोरिसससँगको खेलमा सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको छ ।